काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु प्र ०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलंगाका पप्पु नेपालीका छोरा अन्दाजी २ वर्षीय आयन नेपाली घाइते भएका थिए । उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्दै आएका थिए ।
घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३