काठमाडौं । भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले राति रिहा गरेको छ ।
दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै करिब नौ घण्टा धर्नामा बसेपछि प्रहरीले मंगलबार राति उनलाई नियन्त्रणमा लिएको थियो । केही समयपछि उनलाई रिहा गरिएको हो ।
कांग्रेस सांसद प्रियंका गान्धी वाड्रासहित विपक्षी दलका नेताहरू आकाशवाणी भवन परिसरमा धर्नामा बसेका थिए । निर्वाचन आयोगतर्फको मार्च प्रहरीले रोकेपछि उनीहरू त्यहीँ धर्नामा बसेका हुन् ।
मंगलबार राति प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा राहुल र प्रियंकालाई नियन्त्रणमा लिएको थियो । बीबीसीका अनुसार नियन्त्रणमा लिएपछि राहुललाई किंग्सवे क्याम्प लगिएको थियो । राहुलसहित अन्य विपक्षी नेतालाई क्याम्पमा राखिएपछि कांग्रेस कार्यकर्ता तथा अन्य प्रदर्शनकारी त्यहाँ पुगेका थिए ।
नियन्त्रणमा लिएपछि राहुलले लोकतन्त्र कमजोर पार्ने प्रयासको हिसाब हुने र त्यसका लागि जिम्मेवार व्यक्तिलाई नछाडिने बताएका थिए ।
कांग्रेसले राहुललाई प्रहरीले नियन्त्रणमा लगिरहेको भिडियो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै घटनालाई सम्झनामा राखिने जनाएको छ । पार्टीले सरकारमाथि प्रहरी दमनमार्फत विपक्षीको आवाज दबाउन खोजेको आरोपसमेत लगाएको छ ।
विपक्षी दलहरूले मतदाता नामावलीमा अनियमितता गरेको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३