काठमाडौं । यमनको हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई साउदी अरेबियाको हवाई क्षेत्र प्रयोग नगर्न चेतावनी दिएको छ । साउदीको आकाश ‘कारबाहीको क्षेत्र’ बन्न सक्ने भन्दै हुथीले यस्तो चेतावनी दिएको हो ।
हुथीद्वारा सञ्चालित ‘ह्युम्यानिटेरियन अपरेसन कोअर्डिनेसन सेन्टर’ले टेलिभिजन च्यानल अल–मसिराहमार्फत विज्ञप्ति जारी गर्दै नागरिक उड्डयन तथा यात्रुको सुरक्षाका लागि साउदी हवाई क्षेत्रमा उडान नगर्न आग्रह गरेको जनाएको छ ।
हुथीले साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई हमला गरिरहेको दाबी गरेको छ । त्यसका कारण साउदी हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्दै गएको उसको भनाइ छ ।
यद्यपि, सम्भावित कारबाही कहिले र कहाँ हुन सक्छ भन्नेबारे हुथीले स्पष्ट पारेको छैन । कुन हवाईमार्ग वा विमानस्थल प्रभावित हुन सक्ने भन्ने विवरणसमेत सार्वजनिक गरिएको छैन ।
यमनमा सैन्य तनाव बढिरहेका बेला हुथीको यस्तो चेतावनी आएको हो । साउदी नेतृत्वको गठबन्धनले सोमबारदेखि यमनमा व्यापक हवाई कारबाही थालेको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारका सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना पुनः कब्जा गर्न ‘रणनीतिक आक्रामक कारबाही’ सुरु गरेको घोषणा गरेका छन् ।
गठबन्धनले ‘अपरेसन डन अफ यमन’ अन्तर्गत १०० लडाकु विमान परिचालन गरिएको र अभियान सुरु भएयता ३२४ हुथी सैन्य लक्ष्य नष्ट गरिएको दाबी गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३