काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न भू–भागमा बदली, वर्षा, मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बदली तथा बाँकी तराईमा आंशिक बदली रहनेछ ।
हिमाली भू–भागका थोरै तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि यस्तै मौसम रहने महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका साथै बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति सुदूरपश्चिमका सबै भू–भाग तथा देशका बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । तराईमा आंशिक बदली रहने तथा बिहानतिर हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
बिहीबार पनि वर्षा र हिमपात
भोलि बिहीबार हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकीका तराई भू–भागमा साधारणतया तथा बाँकी तराईमा आंशिक बदली रहनेछ ।
कोशी र बागमतीका हिमाली भू–भागका थोरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
कोशी र बागमतीका पहाडी भू–भागका केही तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुन सक्नेछ ।
मधेशसहित कोशी, बागमती र गण्डकीका तराईका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
शुक्रबार पनि वर्षाको सम्भावना
शुक्रबार हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईमा साधारणतया बदली तथा बाँकी तराईमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनीका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
मधेशसहित कोशी र सुदूरपश्चिमका तराईका थोरै तथा बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भाग तथा कोशीका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३