काठमाडौं । बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय प्रणालीका कारण नेपालमा पनि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार बुधबार (असोज ७ गते) देखि नै कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ । भारी वर्षासँगै बाढी, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
भारी वर्षाका कारण सहरी तथा तराई क्षेत्रमा डुबान, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने विभागले जनाएको छ । कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले आग्रह गरेको छ ।
उक्त मौसम प्रणालीको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ । पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने व्यक्तिलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भारी वर्षाको समयमा अत्यावश्यक नभई टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले आग्रह गरेको छ ।
आकस्मिक बाढी आउनसक्ने खोला तथा खहरे आसपास, पहिरोको जोखिमयुक्त स्थान र नदी किनारमा बसोबास गर्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० तथा सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।
त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पाक्न लागेको धानलाई वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । मौसम सफा भएपछि मात्र धान काट्न र पाकिसकेको धान काट्नैपर्ने अवस्था भए सुरक्षित स्थानमा थन्क्याउन नार्कले सुझाव दिएको छ ।
हिमाली पदयात्रीलाई फर्कन सुझाव
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले मौसम प्रणालीको प्रभाव असोज ८ देखि १२ गतेसम्म रहन सक्ने बताएका छन् ।
उनले हिमाली क्षेत्रमा पदयात्रामा रहेकालाई बिहीबार (असोज ८ गते) भित्र फर्कन सुझाव दिएका छन् । हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना रहेकाले नेपाल मौसम विज्ञान विभागको पूर्वसूचनामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार उक्त अवधिमा हिमाली क्षेत्रमा धेरै हिउँ पर्न सक्ने भएकाले पदयात्रामा जोखिम बढ्न सक्छ ।