काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित बिमित तथा मृतकका परिवारका लागि बिमा रकम भुक्तानीको प्रक्रिया सहज बनाइएको छ ।
नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले बाढी प्रभावितका लागि बिमा दाबी, बिमालेख समर्पण, बिमालेख कर्जा तथा परिपक्व भुक्तानीको प्रक्रिया खुकुलो बनाएका हुन् ।
प्राधिकरणका अनुसार बाढीबाट मृत्यु भएका व्यक्तिका परिवारले बिमा दाबी गर्दा निवेदनमा बिमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण र दाबीकर्तासँगको नाता खुलाउनुपर्नेछ । दाबीकर्ताको परिचय पुष्टि हुने सरकारी प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ ।
बाढीमा बेपत्ता भएका व्यक्तिको हकमा नाता प्रमाणित गर्न आधिकारिक सरकारी निकायबाट बाढीमा बेपत्ता भएको उल्लेख भएको सिफारिस पत्र पेश गर्नुपर्नेछ । सक्कल वा कम्पनीको अभिलेखमा रहेको बिमालेखको प्रतिलिपि पनि निवेदनसँग संलग्न गर्नुपर्नेछ ।
बाढीका कारण सक्कल बिमालेख नष्ट भएमा बिमा कम्पनीहरूले निःशुल्क प्रतिलिपि बिमालेख उपलब्ध गराउनुपर्ने प्राधिकरणले निर्देशन दिएको छ ।
त्यस्तै, बाढी प्रभावित बिमितले बिमालेख धितोमा लिएको कर्जाको ब्याज समयमै तिर्न नसकेको अवस्थामा ६ महिनासम्म ब्याज नलाग्ने वा कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था मिलाइएको छ ।
प्राधिकरणले बाढी प्रभावितलाई बिमा दाबी तथा अन्य भुक्तानीका लागि आवश्यक सहजीकरण गर्न जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३