काठमाडौं । भारतको ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग गर्दै अक्टोबर १० मा नयाँ दिल्लीमा मार्च आयोजना गर्ने घोषणा गरेको छ ।
प्रहरीले भेला हुन अनुमति नदिए पनि मुम्बईको शिवाजी पार्कमा हजारौँ प्रदर्शनकारी सहभागी भएको प्रदर्शनपछि सीजेपीले दिल्ली मार्चको आह्वान गरेको हो ।
सीजेपीका संस्थापक तथा संयोजक अभिजीत दिपकेले जारी गरेको वक्तव्यमा ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबर १० मा भारतभरका ‘ककरोच’ दिल्ली पुगेर जन्तर–मन्तरमा प्रदर्शन गर्ने उल्लेख छ ।
दिल्ली प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोजे जहाँ रोक्छ, त्यही स्थानलाई जन्तर–मन्तर बनाएर प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन् ।
उनले प्रदर्शन शान्तिपूर्ण हुने र महात्मा गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्ने दाबी गरेका छन् । निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको रक्षा गर्न मार्चमा सहभागी हुन आह्वान गर्दै उनले यसलाई ‘लोकतन्त्र बचाउने लडाइँ’ को संज्ञा दिएका छन् ।
यसअघि अक्टोबर २ मा दिल्लीको जन्तर–मन्तर तथा आसपासका क्षेत्रमा भएको प्रदर्शनका क्रममा पूर्वमुख्यमन्त्री आतिशीसहित ७०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनका लागि प्रहरीले अनुमति नदिएको तथा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने गरी भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत प्रतिबन्ध लगाइएको थियो । प्रदर्शनका क्रममा विपक्षी दलका केही नेता तथा विद्यार्थी नेतासमेत हिरासतमा लिइएको बताइएको छ ।
अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्तीसमेत हो ।
यसअघि मुम्बईको शिवाजी पार्कमा सीजेपीको नेतृत्वमा भएको प्रदर्शनमा चलचित्र कलाकार तथा संगीतकारसहित ठूलो संख्यामा मानिस सहभागी भएका थिए । उक्त प्रदर्शनमा दिल्लीमा जस्तो ठूलो प्रहरी कारबाही नभएको जनाइएको छ ।
मे महिनामा अनलाइन व्यङ्ग्य अभियानका रूपमा सुरु भएको यो आन्दोलन पछिल्ला महिनामा सडक प्रदर्शनमा परिणत भएको हो । जुलाई २० मा दिल्ली प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज गरेको थियो । त्यसपछि जुलाईको अन्त्यतिर भारतका तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३