काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
टोरन्टोले उपाधि रक्षा गर्ने क्रममा शनिबार बीसी प्यालेसमा भएको फाइनलमा भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्यो ।
भ्यानकुभरले दिएको ८५ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गरेको हो । टोरन्टोका एला म्याककगनले अविजित ३६ रन बनाउँदा इन्दु बर्मा १८ रनमा अविजित रहिन् ।
भ्यानकुभरका ग्रेस स्क्रिभेन्सले २ तथा जेस जोसेफले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको भ्यानकुभरले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनाएको थियो । उसका लागि सोफी रिडले ३५, कप्तान म्यारिजेन कापले १६, ग्रेस स्क्रिभेन्सले अविजित ११ तथा फेबी मोल्केनबोअरले १० रन बनाए ।
टोरन्टोका सोफिया सम्ले र अमरपाल कौरले २–२ तथा इन्दु बर्माले १ विकेट लिइन् ।
प्रतियोगितामा इन्दुले ४ खेल खेल्दै ४ विकेट लिनुका साथै १८ रन बनाएकी छन् ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३