काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पनि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर रहने भएको छ ।
एभरेस्ट बैंक पहिलो सिजनदेखि नै विराटनगर किंग्ससँग जोडिँदै आएको छ । तेस्रो सिजनका लागि पनि विराटनगर र एभरेस्टबीच ‘पावर्ड बाई पार्टनर’का रूपमा सहकार्य गर्ने सम्झौता भएको हो ।
नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको निरन्तर सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागिता थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ । टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको सहयोग महत्त्वपूर्ण रहेको जनाएको छ ।
एनपीएलको तेस्रो सिजन आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुँदै छ । विराटनगर किंग्सले कात्तिक १० गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३