काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले वुमन्स एसिया कप २०२६ को उपाधि आठौँ पटक जितेको छ । तर, उपाधि जितेपछि भएको पुरस्कार वितरण समारोहमा भारतीय टोलीले विजेताको ट्रफी र पदक ग्रहण गर्न अस्वीकार गरेको छ ।
आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनलपछि आयोजित समारोहमा एसियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष मोहसिन नकवी उपस्थित थिए । नकवी पाकिस्तानका गृहमन्त्री तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षसमेत हुन् । भारतीय टोलीले उनीबाट ट्रफी ग्रहण गर्न अस्वीकार गरेको हो ।
यो घटना गत वर्ष पुरुष एसिया कपको फाइनलपछि देखिएको अवस्थासँग मिल्दोजुल्दो छ । त्यतिबेला पनि भारतीय टोलीले नकवीबाट ट्रफी ग्रहण गरेको थिएन ।
भारतीय महिला टोलीका प्रशिक्षक अमोल मजूमदारले खेलपछिको पत्रकार सम्मेलनमा ट्रफी नलिने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को रहेको बताए ।
“यो निर्णय बीसीसीआईको हो र हामी त्यसमा सहमत छौँ । हामी यस प्रतियोगिताका विजेता हौँ । त्यति नै पर्याप्त छ । स्कोरबोर्डमा भारत च्याम्पियन लेखिएको छ,” उनले भने ।
ट्रफी कहिले प्राप्त हुन्छ भन्नेबारे आफूलाई जानकारी नभएको पनि उनले बताए ।
खेल सकिएपछि पुरस्कार वितरण समारोह करिब ५० मिनेट ढिलो सुरु भएको थियो । श्रीलंकाकी कप्तान चमारी अत्तापत्थुले उपविजेताको चेक ग्रहण गरेपछि आयोजकले भारतीय टोली अवार्ड ग्रहण गर्न नआउने घोषणा गरेको थियो । त्यसपछि समारोह सकिएको थियो ।
भारतीय टोलीले विजेताको पदक र ट्रफी ग्रहण नगरेपछि भौतिक ट्रफी एसीसीसँगै रहेको छ । भारतले लगातार दोस्रो पटक महिला एसिया कपको उपाधि जिते पनि औपचारिक ट्रफी भने प्राप्त गरेको छैन ।
बीसीसीआई सचिव देवाजित सैकियाले भारतको निर्णयलाई देशको हित, जनताको सम्मान तथा गत वर्ष पुरुष टोलीले लिएको अडानसँगको एकताका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार गत वर्षको पुरुष एसिया कपको ट्रफी अझै भारत नपुगेकाले महिला टोलीले फरक व्यवहार नगर्ने निर्णय गरिएको हो ।
भारतीय टोलीको यो कदमलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । समर्थक तथा आलोचकबीच ट्रफी ग्रहण नगर्ने निर्णयलाई लिएर बहस भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३