काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गर्दै नेपालले इमर्जिङ टिम्स एसिया कपमा स्थान सुरक्षित गरेको हो।
एसीसी प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। ओमानलाई हराउँदै फाइनलमा पुगेपछि नेपाल शीर्ष तीनमा परेको हो।
अब ओमान र हङकङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले पनि इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।
प्रिमियर कपको फाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाउन फाइनलमा यूएईलाई पराजित गर्नुपर्नेछ।
नेपाल र यूएईबीचको फाइनल खेल शनिबार बिहान ७ः१५ बजेबाट सुरु हुनेछ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३