काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मलेसियाको बायोमास ओभलमा भएको सेमिफाइनलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।
ओमानका जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा चार चौका प्रहार गरे।
बसिर अहमदले ४७, देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरबीच ९३ रनको महत्वपूर्ण साझेदारी भएको थियो।
ओमानका हसनैन शाह र जय ओडेदराले तीन–तीन, मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए।
नेपाल दोस्रोपटक एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो। यसअघि नेपालले सन् २०२३ मा उपाधि जितेको थियो।
अब नेपालले उपाधिका लागि साविक विजेता यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यूएईले हङकङलाई सात विकेटले पराजित गर्दै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३