काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौका प्रहार गरे । बसिर अहमदले ४७, देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए ।
पाँचौँ विकेटका लागि दीपेन्द्र र बसिरबीच ९३ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।
ओमानका लागि हसनैन शाह र जय ओडेदराले तीन–तीन विकेट लिए । मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३