काठमाडौं । इंग्लिस क्लब एस्टन भिलाका मुख्य प्रशिक्षक उनाई एमेरीले च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलका लागि आफ्नो टोली पूर्ण रूपमा तयार र आत्मविश्वासी रहेको बताएका छन् ।
एस्टन भिलाले मंगलबार बेल्जियन क्लब क्लब ब्रुगेसँग खेल्दै च्याम्पियन्स लिग अभियान सुरु गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एमेरीले युरोपेली प्रतियोगितामा पुनः प्रतिस्पर्धा गर्न पाउँदा टोली उत्साहित रहेको बताए ।
“टिम निःसन्देह आत्मविश्वासी र सकारात्मक मनसायमा छ । युरोपमा खेल्नु सधैँ उत्साहजनक हुन्छ,” एमेरीले भने ।
उनले एस्टन भिला र ब्रुगबीच यसअघि पनि युरोपेली प्रतियोगितामा पटक–पटक प्रतिस्पर्धा भएको स्मरण गर्दै टोलीले विगतमा जित हासिल गरेको बताए । च्याम्पियन्स लिगमा पुनः फर्किनुले खेलाडीहरूको आत्मविश्वास थप बढाएको उनको भनाइ छ ।
“हामीले कन्फरेन्स लिग, युरोपा लिगलगायत प्रतियोगिता र च्याम्पियन्स लिगमै पनि ब्रुगेसँग धेरै पटक खेलिसकेका छौँ । हामी तीमध्ये केही खेलमा जित्न पनि सफल भएका छौँ,” उनले भने ।
एक वर्षको अनुपस्थितिपछि एस्टन भिला च्याम्पियन्स लिगमा फर्किएको हो । टोली सन् २०२४–२५ को संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
पछिल्लो समय एस्टन भिला राम्रो लयमा देखिएको छ । टोलीले सन् २०२५–२६ को युरोपा लिगको उपाधि जितेको छ भने इंग्लिस प्रिमियर लिगको गत सिजन चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।
एस्टन भिला र क्लब ब्रुगबीचको खेल नेपाली समयअनुसार मंगलबार राति १०:३० बजे सुरु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३