काठमाडौं । नेपाल ‘ए’ दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । शुक्रबार भएको खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई १३८ रनले पराजित गरेको हो ।
साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै अलआउट भयो ।
नेपालका लागि रासिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २०, दीपकप्रसाद डुम्रेले १८ र कप्तान अनिलकुमार साहले ११ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
साउथ अस्ट्रेलियाका स्पेन्सर जोनसनले तीन विकेट लिए । क्याम्पबेल थम्पसन र हेडेन शिलरले दुई–दुई तथा हानो ज्याकब्स र लाचलान ब्याङ्ग्सले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५९ रन बनाएको थियो ।
उसका लागि डोउट्जी हुगेनबोजेमले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै १११ रन बनाए । उनले १२२ बलमा चार चौका र चार छक्का प्रहार गरे ।
यस्तै, लाचलान ब्याङ्ग्सले ४२, जेर्सिस वाडियाले २९, जेक केओघले १७, हेडेन शिलरले अविजित १३ र थोमस ब्राउनले १३ रन बनाए ।
नेपालका रासिद खानले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम, पवन सराफ र रिजन ढकालले एक–एक विकेट लिए ।
नेपाल ‘ए’ले यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग दुई विकेटको हार व्यहोरेको थियो । अब नेपालले आइतबार न्युजिल्यान्ड ‘ए’सँग अन्तिम अभ्यास खेल खेल्नेछ ।