काठमाडौँ । भातमा आज ७२ औँ गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री मोदीले मङ्गलवार बिहान ट्विटरमार्फत सम्पूर्ण भारतीय देशवासीलाई बधाई दिएका छन् ।
भारतमा सन् १९५० जनवरी २६ मा गणतन्त्र स्थापना भएका थियो । यस अघिका गणतन्त्र दिवसहरूमा भारतले विदेशी विशिष्ट पाहुनाहरूलाई प्रमुख अतिथिको रूपमा बोलाउने गरेको थियो । तर यसमापाली भने कोरोना महामारीका कारण विदेशी पाहुना विना नै गणतन्त्र दिवस मनाइँदै छ । भारतले ५५ वर्षपछि मात्रै विदेशी पाहुनाबिना नै गणतन्त्र दिवस मनाउन लागेको हो ।
राजपथमा आयोजित समारोहमा भारतको सैन्य शक्ति, विभिन्न झाँकी पनि प्रदर्शन गरिने छन् । परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने छन् ।
गणतन्त्र दिवसकै अवसरमा भारतीय किसानहरूले आज ट्याक्टर र्याली गर्ने चर्चा भएको छ । जारी किसान आन्दोलनका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतका किसानहरू सरकारले ल्याएको कृषि कानुनको विरोधमा छन् । उक्त कानुन किसान विरोधी भएकाले खारेज गर्नुपर्ने किसानहरूको माग छ ।किसान र्यालीका लागि देशभरका ३० हजार भन्दा बढी ट्याक्टर नयाँ दिल्ली पुगेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७