काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली खप्तड फाल्कोन्सले ब्राजिलका अनुभवी सेटर जो मौरिसियो डा सिल्भा नेटोलाई अनुबन्ध गरेको छ ।
नेटो खप्तडमा भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । उनको अनुबन्धसँगै खप्तडले विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।
खप्तडले यसअघि बेनिनका आउटसाइड हिटर बोस्को डेटे र रुसका आउटसाइड हिटर आर्टेम किसेलेभसँग सम्झौता गरिसकेको थियो ।
नेटोसँग ब्राजिल, इजरायल र इस्टोनियाका विभिन्न क्लबबाट खेलेको अनुभव छ ।
खप्तड फाल्कोन्सको मुख्य प्रशिक्षकमा रुपेशकुमार विष्ट छन् । धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तडले अक्सनबाट सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवश थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’बाट रोहित रामानन्द जोशीलाई छनोट गरेको थियो ।
एनभीएलको पहिलो संस्करण शुक्रबार (भदौ १९) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सुरु हुँदैछ ।
खप्तड फाल्कोन्सले शनिबार सगरमाथा स्म्यासर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३