काठमाडौं । अष्ट्रेलियामा जारी तीन खेलको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ४३.३ ओभरमा १९२ रनमा अलआउट भयो। नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
तास्मानियाका लागि टम ड्वयरले सर्वाधिक ६० रन बनाए। विल प्रेस्विजले २३, जस्टिन गेलियोटीले २४, रौफ म्याकमुलेनले ३२ तथा म्याथ्यू कुन्हेमेनले अविजित २३ रन बनाए।
नेपालका लागि बलिङमा साहब आलम र दीपक प्रसाद डुम्रेले २–२ विकेट लिए। रिजन ढकाल, आकाश चन्द र पवन सर्राफले समान १–१ विकेट लिए।
खेलका क्रममा नेपालका युवा ब्याटर युवराज खत्री पेल्भिक क्षेत्रमा चोटग्रस्त भएपछि दोस्रो इनिङ्समा बलिङ गर्न सकेनन्। उनको चोटबारे नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएको हो।
नेपाल ‘ए’ का लागि ओपनर तृतराज दासले सर्वाधिक ३७ रन बनाए। मयन यादवले ३२, कुशल मल्लले २९, पवन सर्राफले अविजित २२, दीपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२ तथा लोकेश बलमे ११ रन बनाए।
तास्मानियाका लागि बिल्ली स्ट्यानलेकले सर्वाधिक ४ विकेट लिए। विल प्रेस्विज र रौफ म्याकमुलेनले २–२ तथा लाच्लान क्लार्कले १ विकेट लिए।