काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने नेपाली ओडीआई क्रिकेट टोलीको नयाँ कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआई टोलीको कप्तान नियुक्त गरेको हो।
सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्। सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तान पदबाट हटाइएको थियो।
सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्।
सन्दीपको कप्तानीमा रहने टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।
आईसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन कमजोर बनेपछि कप्तान परिवर्तन गरिएको हो। यससँगै रोहित पौडेलले ओडीआईसँगै टी–२० टोलीको कप्तानीसमेत गुमाएका छन्।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३