काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ । सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ तथा देव खनालले १० रन बनाए ।
बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै १४ रन खर्चिए । ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए ।
नेपालले अब बिहीबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३