काठमाडौं: नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान रचेका छन् ।
निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सफल आरोहण गरेपछि यस्तो कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै आठ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।
उनले गएको अप्रिलबाट आफ्नो यात्रा शुरु गरेका थिए । गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए । 
उनले खिचेको ‘सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचार समेत लेखेका थिए । 
यस्ता छन् निर्मल पुर्जाका हिमाल आरोहणको कीर्तिमान
- अन्नपूर्ण, नेपाल, अप्रिल २३
 - धौलागिरी, नेपाल, मे १२
 - कञ्जनजङ्गा, नेपाल, मे १५
 - सगरमाथा, नेपाल, मे २०
 - लोत्से, नेपाल, मे २२
 - मकालु, नेपाल, मे २४
 - नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३
 - जी १, पाकिस्तान, जुलाई १५
 - जी २, पाकिस्तान, जुलाई १८
 - के २, पाकिस्तान, जुलाई २४
 - ब्रोड पिक, पाकिस्तान, जुलाई २६
 - चो यू, चीन, सेप्टेम्बर २३
 - मनास्लु, नेपाल, सेप्टेम्बर २७
 - शीशापाङ्मा, चीन, अक्टोबर २९
 
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६