काठमाडौं । न्युक्यासल युनाइटेडले स्पेनिस मिडफिल्डर निको गोञ्जालेजलाई म्यानचेस्टर सिटीबाट भित्र्याएको छ।
न्युक्यासलले बुधबार गोञ्जालेजसँग दीर्घकालीन सम्झौता गरेको जनाएको हो। क्लबले सम्झौता रकम सार्वजनिक नगरे पनि इंग्लिस सञ्चारमाध्यमका अनुसार न्युक्यासलले गोञ्जालेजका लागि ५२ मिलियन पाउन्ड खर्च गरेको छ।
सम्झौतापछि गोञ्जालेजले न्युक्यासलमा आबद्ध हुन पाउँदा निकै खुसी रहेको बताए। उनले यसअघि न्युक्यासलविरुद्ध खेल्दा कठिन अवस्था सामना गर्नुपरेको स्मरण गर्दै क्लबबाट खेल्न उत्साहित रहेको बताएका छन्।
२४ वर्षीय गोञ्जालेज गत वर्ष मात्रै म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए। उनले सिटीबाट कुल ५९ खेल खेलेका छन्।
न्युक्यासलमा गोञ्जालेजले ६ नम्बरको जर्सी लगाउनेछन्। उनी यस सिजन न्युक्यासलले अनुबन्ध गरेका सातौँ खेलाडी बनेका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३