मंसिर १३, काठमाडौँ । अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन । ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्रयाटिक पार्टीका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ । रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए । पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरिरहेका छन ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३