काठमाडौं : नृत्य समूह कार्टुन्ज क्रु भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवतः पहिलोपटक यो समूह अलिक फरक किसिमको गीतको भिडियोमा देखिएको छ । यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन्, न त उनीहरूका साथीहरूले रोमान्टिक हुने वातावरण नै बनाइदिएका छन् ।
गायक सञ्जीव पराजुलीको नयाँ गीत ‘सोचमा’ को भिडियोमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजकी विद्यार्थीको रूपमा देखाइएको छ । सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ ।
कार्टुन्ज क्रुका सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए । ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौं । तर यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौं । दर्शकका लागि यो नौलो स्वादको हुने छ’, सरोजले भने ।
गायक सञ्जीवले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए । ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीत भन्दा यो गीत केही हिसाबले फरक छ’, उनले भने ।
गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा कार्टुन्ज क्रुसँगै गायक सञ्जीव पनि फिचर्ड छन् । अघि गायक सञ्जीव र कार्टुन्ज क्रुको सहकार्यमा ‘नाइ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ ।
हेर्नुस् भिडियाे :
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६