काठमाडौं : संचारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको कमलरीेका कथामा बनेको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ ।
यो चलचित्र सबै उमेर समूहका दर्शकहरूले हेर्न सक्ने बताइएको छ । नेपालका पश्चिमका जिल्लाहरूमा थारू समुदायमा विगतमा प्रचलनमा रहेको कमलरी प्रथामा आधारित चलचित्र लावाजुनीमा कमलरी बस्दा थारू बालिकाहरूले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथै उनीहरूको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगमा उठाइएको छ ।
पहल नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र लावाजुनीमा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरूको अभियनय रहेको छ । संगीत सन्तोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतीश राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन् ।
५० लाख रुपैयाँमा निर्माण गरिएको चलचित्र लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रीना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन् ।
लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरूमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५