अल्जियर्स : अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनुपर्ने बताएका छन् । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेताले पद त्याग्नुपर्ने मागसहित केही हप्तायता अल्जेरियामा प्रदर्शन जारी छ ।
जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न सङ्कटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताए ।
सेना प्रमुखका अनुसार सन् २००४ मा नियुक्त भएका राष्ट्रपति बतेफ्लिका संविधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको बिरामीका कारण संसदमा मतदान गरेर अयोग्य घोषणा गर्न सकिनेछ । तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन् । सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ ।
राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौँ कार्यकालका लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शन जारी छ । पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला रोकिएका थिएनन् । उनको राजीनामाको माग गर्दै प्रदर्शन जारी रह्यो ।
८२ वर्षीय नेता ह्विलचेयरको प्रयोग गरेर हिँड्डुल गर्नुपर्ने र उनी कमै मात्र सर्वसाधारणका बीचमा आउने गरेको बताइएको छ । सन् २०१३ मा उनलाई हृदयाघात पनि भएपछि उपचारका लागि फ्रान्स र स्विट्जरल्याण्ड गएका थिए । गत मार्च ११ मा मात्र स्विट्जरल्याण्डमा उपचारपछि उनी घर फर्किएका थिए ।
उल्लेख्य मात्रामा अल्जेरियालीहरू रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएको थियो । तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन् । जारी प्रदर्शनका क्रममा ३० वर्षभन्दा कम उमेरका मानिसहरू आधाजसो रहेको बताइएको छ ।
कमजोर स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसकेका आलोचकहरू पनि बताउँदै आएका छन् ।