वासिङ्टन ः अमेरिकी सांसदहरू आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठबारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।
महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष अनुसन्धाता रोबर्ट मुलरले तयार पारेका हुन् ।
बारले शनिबार प्रतिवेदन अध्ययन गर्न ९ घण्टा बिताएका थिए । उनले भनेका थिए, प्रतिवेदनको मुख्य सार सप्ताहान्तमा सार्वजनिक गरिनेछ । ट्रम्प र उनको भित्री घेरामा रहेर कार्य गर्ने व्यक्तिहरूले प्रतिवेदन हस्तान्तरण गर्नुअघि मुख्य अनुसन्धाता मुलरले दोषारोपण नगरेकामा खुसी मनाएका छन् ।
अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधीवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ । महान्यायाधीवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्ने बताएका छन् ।
मुलर स्वयंले भने प्रतिवेदनबारे केही बताएका छैनन् । अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अडकलबाजी गरिएका छन् ।
केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन् । तर कतिपयले सङ्घीय जाँच ब्युरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा एकाएक बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अवरोध गरेको दाबी गरेका छन् । उनीहरूको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, थप अनुसन्धानको ढोका यस प्रतिवेदनले खोल्नेछ ।
मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र ३ वटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसकेका छन् । ट्रम्पका पूर्वचुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्वनिजी वकिल माइकल कोहेनलाई जेल सजाय गरिएको छ ।
तर ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए/नभएको प्रश्नका बारेमा हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन । सङ्घीय जाँच ब्युरो (एफबीआई) का पूर्वनिर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तर्वार्ता लिएका थिएनन् । बरु, रुससँगको सम्बन्धबारे ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिएका थिए ।
जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पद सम्हालेलगत्तै अमेरिकी गुप्तचर निकायले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । रुसीहरूले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो । रुसीहरूको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगको थियो ।
रुसले भने अमेरिकी चुनावमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि मुलरको छानबिनप्रति तीव्र रोश प्रकट गर्दै आएका थिए । ह्वाइटहाउसका १ जना प्रवक्ता होगान गिड्लेले संवाददातासँग कुरा गर्दै ह्वाइटहाउसले मुलरको प्रतिवेदन प्राप्त नगरेको वा प्रतिवेदनमा समेटिएका विषयबारे कुनै जानकारी नदिइएको बताए ।
अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरूले मुलरको पूर्णप्रतिवेदन र यससँग जोडिएका अन्य दस्तावेज सार्वजनिक गर्न आग्रह गरेका छन् । डेमोक्र्याट पार्टीले मुलरको प्रतिवेदनमा जे भनिए पनि राष्ट्रपतिमाथिको छानबिनलाई निरन्तरता दिने बताएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५