बैङ्कक : सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ ।
विद्यालय, मन्दिर, सरकारी कार्यालयलगायतका ठाउँमा बिहानैदेखि मतदान गर्नेहरूको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बहुप्रतीक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित देखिएका छन् भने राजाले पनि आफ्नो असल नेता छान्न आह्वान गरेका छन् ।
थाई नरेश माहा वाजिरालोङकोर्नको आह्वानलाई स्थानीय सबै टेलिभिजनहरूले पटक पटक प्रसारण गरिरहेका छन् । राजाको सो आह्वान दुर्लभ भएको उनीहरूको भनाइ छ ।
थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ भने राजाले राजनीतिमा कुनै भूमिका खोज्ने गरेको पाइएको छैन । राजपरिवारलाई नकारात्मक असर पर्नेगरी टीकाटिप्पणी तथा व्यवहार गर्न नपाइने कानुनी व्यवस्था छ ।
निर्वाचनका लागि देशभर पाँच करोड दश लाख बढी मतदाता रहेका छन् । तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देशबाहिरबाट मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अधिकारीहरूले दिएको जानकारीअनुसार देशबाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् ।
निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । थाइल्याण्डमा देशभर गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कुल सांसदको संख्या भने पाँच सय रहेको छ ।
निर्वाचनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका छन् । सैनिक शासक रहेकाले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला सरकारले दलहरूलाई दर्ताका लागि बाटो खोलिदिएपछि निर्वाचनको थप वातावरण बनेको हो ।
पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको छ ।
थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ता विद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । तर उनलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो । त्यसपछि पाँच वर्षदेखि सैनिक नेता प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । उनी पनि अहिले निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् ।