कारकास ः २ बस एकआपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पछिल्लो समयको सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो ।
राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राती २ बजे दुर्घटना भएको हो ।
सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिए ।
‘दुर्घटनामा पनि कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ, एकआपसमा ठोक्किएका बसमध्ये एउटा जलेर पूर्ण रूपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ,’ उनले भने ।
एकआपसमा ठोक्किएका बेला दुवै बसमा ५०/५० जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरू बसभित्रै पोलिएको अधिकारीहरूले जनाएका छन् ।
किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये अधिकांशको टाउकोसहित शरीरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्गमा पोलिएको छ ।
‘घाइते भएर उपचार गराइरहेका २८ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ,’ उनले भने ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५