बेइजिङ : अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टिभन मनचिन दुई दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । दुवै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिहरू फर्किएलगत्तै अप्रिलमा चिनियाँ उपप्रधानमन्त्री लिऊ हे व्यापार वार्ताका लागि अमेरिका जाने जानकारी दिए ।
वासिङ्टन र बेइजिङले व्यापार सम्झौतालाई अन्तिम स्वरूप दिन सङ्घर्ष गरिरहेका छन् । अमेरिकी प्रतिनिधिहरूले चिनियाँ औद्योगिक नीतिमा व्यापक फेरबदल हुनुपर्ने माग गरिरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पनि अमेरिकी कर वृद्धिलाई अझै निरन्तरता दिइरहने बताए । चीनले व्यापार वार्तामा प्रगति भएसँगै जतिसक्दो चाँडो अमेरिकी कर वृद्धि फुकुवा हुने अपेक्षा गरेको थियो ।
विगत आठ महिनादेखि संयुक्त राज्य अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरेका छन् । यस कर वृद्धिले दुवै मुलुकको उत्पादन क्षेत्रमा नकारात्मक असर परेको छ ।
शुक्रबार मात्र चीनको जनकङ्ग्रेसले बौद्धिक सम्पत्तिको संरक्षणलाई विशेष प्राथमिकता दिनेगरी नयाँ वैदेशिक लगानी कानुन पारित गरेको थियो । चीनको उक्त कानुनका बारेमा अध्ययन भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५