जाकार्ता ः इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ ।
इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली प्रकोप व्यवस्थापन निकायका अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
जयापुरा जिल्लामा करिब १ सातादेखि जारी रहेको यस प्रकोपमा १५९ व्यक्ति घाइते भएका र घाइतेमध्ये पनि ८४ व्यक्तिको अवस्था गम्भीर रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन् ।
गत शनिबार साँझबाट आएको यस बाढीमा परी अझै पनि धेरै व्यक्ति बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बाढीबाट प्रभावित भएका मध्ये ६ हजार ८३१ व्यक्तिलाई ५ वटा शरणार्थी स्थलमा स्थानान्तरण गरिएको बताइएको छ ।
बाढीले ३५० भवन, ३ पुल, ८ विद्यालय भवन र ८ वटा धार्मिक स्थल ध्वस्त हुनुका साथै सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुगेको बताइएको छ । बाढी प्रभावितको खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५