किन्सासा ः प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीले सोमबार जनाएका छन् ।
केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक वर्ष ठूलो संख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । कमजोर रेल मार्ग, अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका मुख्य कारण हुने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५