लन्डन ः बेलायती सरकारले ब्रेक्जिट (युरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने विषयमा निर्णय लिन आगामी साता गर्ने भनिएको संसद्को मतदान तत्काल नहुने भएको छ ।
ब्रेक्जिट प्रक्रियालाई धेरै पछि नपु¥याउन सरकारले संसद्मा बहुमत पाउने निश्चित नभएसम्म मतदान नगर्ने प्रधानमन्त्री मेले बताएकी छन् ।
यसअघि ब्रेक्जिटबारे प्रधानमन्त्रीले इयू नेतासँग गरेको सम्झौतालाई अनुमोदन गराउन बेलायती संसद्मा भएका २ फरकफरक प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले गत मंगलबार संसद्मा प्रस्तुत गरेको ब्रेक्जिट सम्झौता अस्वीकृत गरेको थियो । ब्रेक्जिटका लागि अब केवल केही दिन मात्र बाँकी रहेको छ । यसअघि जनवरीमा पनि संसद्ले सो सम्झौता अस्वीकृत गरेको थियो ।
गत मंगलबार संसद्मा भएको मतदानमा ब्रेक्जिट सम्झौताको विपक्षमा ३९१ मत र पक्षमा २४२ मत परेको थियो । विशेषगरी, इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तका रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायत विभाजित छ । यो विवादका कारण सांसदहरू ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका हुन् ।
मंगलबार सम्झौता अस्वीकृत भएपछि मेले १ विज्ञप्ति जारी गर्दै आफू अझै पनि इयू नेतासँग भएको सम्झौतासहितको नियमित ब्रेक्जिटको पक्षमा रहेको बताएकी छन् । उनले उक्त सम्झौता उत्कृष्ट रहेको उल्लेख गरेकी छन् ।
बेलायतले बिना सम्झौता ब्रेक्जिट भए अधिकांश आयातमा कर छुट हुने बताएको छ । उसले अघि सारेको अस्थायी योजनामा समग्र आयातको ८० प्रतिशतमा कर छुट हुने उल्लेख छ ।
बेलायतका व्यापार नीति मन्त्री जर्ज होलिङबेरीले मुलुकको प्राथमिकता इयूसँगको सम्झौता कायम राख्नु र विश्व व्यापारिक सम्बन्धमा कुनै आँच आउन नदिनु रहेको बताए । तर, कुनै पनि अवस्थाका लागि तयार हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५