काठमाडाैं । संसारले यतिबेला सोच्दै नसोचेको संकटको सामना गरिरहेको छ । कोभिड–१९ का नाममा आएको यो संकटले विश्वकै जनजीवन ठप्पप्रायः बनाइदिएको छ । मानिसहरुले कहिल्यै कल्पना गरेका थिएनन् कि आफ्नो जीवन बचाउन उनीहरु महिनौँसम्म यसरी आफ्नो घरको पर्खालभित्र सीमित भएर बस्नुपर्ला भनेर ।
विकसित देशहरु समेतले घुँडा टेकिरहेको यो भाइरसका सामु संसारका सबै देशहरु निरीह सावित भएका छन् । यो पीडा र निरीहता कति समयसम्म हामीले भोग्नुपर्ने हो, अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।
संसार नै प्रभावित भएको यो वैश्विक महामारीबाट हामी पनि अछुतो रहन सक्ने कुरा भएन । यद्यपि मानवीय क्षतिका हिसाबले आजको दिनसम्म हामीले भोगिरहेको पीडा विश्वका अन्य मुलुकको तुलनामा निकै कम हो ।
कोरोना महामारीले चौतर्फीरुपमा हाम्रो मुलुकलाई पनि छोप्दै ल्याएपछि सरकारले गएको चैत १२ गतेदेखि साउनको पहिलो हप्तासम्म लकडाउनको घोषणा गर्यो । बन्दाबन्दीको घोषणा गरेर रोकथाम र पूर्वतयारीमा लागेको सरकार कोरोनासँगको लडाइँमा प्रत्येक मोर्चामा असफल भयो ।
योजनाबिना हठात गरिएको लकडाउनले सहरमा बस्ने मजदुर र निम्न वर्गको पनि चुह्लो बल्न छोड्यो । हातमुख जोर्नै धौधौ हुने अवस्था आएपछि राजधानी काठमाडौँ र देशका विभिन्न सहरमा पेसा व्यवसाय गरी जीविका चलाउने मानिसहरु आफ्नो थातथलो जान खोजे । तर लकडाउन गरेर बसेका सरकारका संयन्त्रहरुले न उनीहरुलाई बाँच्नका लागि विकल्प दिए न घर जान नै सुरक्षित वातावरण बनाइदिए ।
सरकारप्रतिको विश्वास समाप्त भएपछि ती निमुखा जनता भोको पेट र खाली खुट्टै सयौँ किलोमिटर पैदलै यात्रा गर्न बाध्य भए । ज्यान बचाउन विवश भएर जनताले नापेको सयौँ किलोमिटर पैदलयात्रालाई सरकारका संयन्त्रहरुले देखेको नदेख्यै गरे । लकडाउनको त्यही अवधिमा छिमेकी भारतबाट स्वदेश फर्किन चाहने लाखौँ मानिसहरुले समेत सरकार विहीनताको सामना गर्नुपर्यो । कोही स्वदेश फर्किन सरकारी रोकावटकै बीच नदीमै हामफाल्न विवश भए पनि कोही चाहिँ महिनौँसम्म सीमावर्ती क्षेत्रमा भारतीय पक्षको दुव्र्यवहारको समाना गर्न बाध्य भए ।
त्यति मात्रै होइन, कामका लागि विदेशमा रहेका लाखौँ नेपालीहरुले पनि स्वदेश फर्किने आशामा लामो समयसम्म सरकारको बाटो हेरे । सरकारप्रतिको विश्वास टुटिसक्दा सुरु गरिएको उद्धारले पनि खास समस्यामा परेका गरिब र निमुखाहरुलाई समेट्न नसकेको गुनासो आजसम्मै जारी छ ।
कोरोना नियन्त्रण र रोकथामका नाममा सरकारले अर्बौंं रकम खर्च भएको विवरण सार्वजनिक गर्दा रोकथाम र पूर्वतयारीका लागि गरिएका प्रायः सबै सरकारी प्रयास विफल सावित भएका थिए । त्यसैले आम मानिसले सरकारले प्रस्तुत गरेको सो विवरण पत्याउन नसकी विरोध गरे ।
त्यसअघि जनताको जिउधनको सुरक्षाका लागि उनीहरुकै राजस्वबाट गरिएको औषधि तथा मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै व्यापक आलोचना भयो । संकटको बेला खरिदमा संलग्न सरकारी पदाधिकारीमाथि यतिबिघ्न प्रश्न खडा हुँदा पनि उनीहरुमाथि कुनै कारबाही नहुँदा जनताको निराशाको पारो निकै बढ्यो र त्यो आज पनि कायमै छ ।
कोरोना महामारीको चपेटामा परिरहेको यही संकटपूर्ण घडीमा छिमेकी देश भारतले हाम्रो भूमि औपचारिक रुपमा आफ्नो पोल्टामा पार्ने दुस्साहस गर्यो । हुन त जबजब हामी संकटमा हुन्छौँ, छिमेकी मुलुक भारतले हामीलाई निरन्तर यस्तै पीडा दिइरहेकै छ । विगतमा पनि हामीले भूकम्पको सामना गरिरहेका बेला हामीलाई नाकाबन्दी लगाएर आफ्नो असली रुप देखाएकै थियो ।
भारतको अहिलेको यो कदमको चाहिँ नेपाल सरकारले गतिलै जवाफ दिएको छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका ती सबै कदमको नेपालका सबै राजनीतिक दल र नेपाली जनताले पूर्ण साथ दिए । अब नेपाल सरकारले जारी गरेको नयाँ नक्साले औपचारिकता पाएको छ ।
अब नेपालको अतिक्रमित भूमि (जो भारतले जबर्जस्त मिचेर उपभोग गरिराखेको छ) कहिले नेपालले भोगचलन गर्ने गरी फर्किएला भनेर सिंगो देश र देशबासीले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७ १७:०९