ललितपुर : महालक्ष्मी नगरपालिका– ८, लुभुका २४० जना सर्वसाधारणको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । महालक्ष्मी नगरपालिका र किष्ट हस्पिटलको संयुक्त प्रयासमा वडा नम्बर- ८ बासीको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यष विश्वराज श्रेष्ठले जानकारी दिए ।
लुभु बसपार्कमा आयोजना गरिएको शिविरमा मधुमेह, किड्नी, स्त्री तथा प्रसूति रोग, मुटु, हाडजोर्नी, नाक–कान–घाँटी, आँखा र दाँतका बिरामीको परीक्षण गर्नुका साथै नि:शुल्क औषधि वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
महालक्ष्मी नगरपालिका र किष्ट अस्पतालवीच सो नगरका बासिन्दाको उपचारमा १५ प्रतिशत छुटसमेत दिने सम्झौता भएको छ । सो सम्झौतामा हरेक महिना नगरका एक/एक वडामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने उल्लेख छ । सहमतिअनुसार वडा नम्बर- ८ मा शिविर सञ्चालन भएको किष्ट अस्पतालले जनाएको छ ।
अस्पतालका विशेषज्ञ चिकित्सकले दिएको सेवाबाट वडाबासीले भरपूर लाभ लिएको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५