काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन आउन लामै समय बाँकी छ तर नयाँ नेतृत्वका बारेमा बहस भने कांग्रेसभित्र सुरु भएको छ । यही बेला विरासतको राजनीति के हुन्छ भन्ने चर्चा पनि सुरु भएको छ । १४औँ महाधिवेशनमा कोइराला परिवार के गर्छ ? धेरैको चासो छ ।
अहिले महामन्त्री डा. शशांक कोइराला, नेतृ सुजाता कोइराला र डा. शेखर कोइराला कांग्रेस केन्द्रीय समितिमा छन् । कांग्रेस स्थापनादेखि १३औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवारले लामो समय कांग्रेस हाँक्यो । वीपी पछाडि गिरिजाप्रसाद, सुशील कोइरालाले कांग्रेसको सफल नेतृत्व गरे । भलै कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेताहरूमाथि अन्याय गरेको आरोप गिरिजाप्रसादमाथि लाग्यो । गिरिजाप्रसादको नेतृत्वमा १७ हजारको ज्यान जानेगरी भएको सशस्त्र द्वन्द्वको अन्त्य, राजतन्त्रको बिदाई र गणतन्त्र स्थापना भयो । सुशील कोइराला संविधान जारी गरेर बिदा भए ।
अहिले मूल नेतृत्वमा कोइराला परिवारलाई चुनौती दिएर नेतृत्वमा स्थापित शेरबहादुुर देउवा कांग्रेस सभापति छन् । महामन्त्री भने वीपी पुत्र शशांक छन् । महामन्त्री रहेकाले उनलाई आगामी महाधिवेशनमा सभापतिका प्रबल दाबेदारका रूपमा हेरिएको छ । तर कोइराला परिवारभित्र शशांकको नेतृत्व सर्वस्वीकार्य बन्छ कि बन्दैन ? आशंका छ ।
शेखरले समेत आफूलाई सभापतिका रूपमा दाबी गर्दै आएका छन् । अहिले अलग अलग जस्तो देखिए पनि महाधिवेशनसम्म पुग्दा शशांक, शेखर, सुजाता एक ठाउँमा हुने कोइराला निकटस्थ दाबी गर्छन् । वीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसभित्र सदावहार नेतृत्व गरेको कोइराला परिवारका बारेमा विभिन्न टीकाटिप्पणी र अनुमान कांग्रेसभित्र जारी छ ।
शशांक–शेखर जोड्ने सुजाता प्रयास
उसो त सभापतिमा देउवा निर्वाचित भएसँगै पार्टीभित्र कोइराला पकड गुम्दै गएको छ । महामन्त्री शशांकको स्वभाव गुट बनाउनेछैन । को आफ्नो र को पराई हो ? सम्म उनले नछुट्याउने गरेको आरोप उनी निकटस्थकै छ । ‘मैले पनि गुट बनाएँ भने पार्टी कसरी चल्छ ?’ गुटको संरक्षण नगरेको गुनासो गर्नेहरूलाई शशांकको जवाफ हुने गर्छ । यस्तो आनन्द पाराले कसरी पो कोइराला विरासत फर्किएला ? निराश छन् कोइराला परिवारप्रति सहानुभूति राख्नेहरू ।
तर पछिल्लो समय एकाएक सक्रियता बढाएको छ कोइराला परिवारले । आफ्नै सुरमा रहेका शशांक र शेखरलाई जुटाएर कोइराला परिवारलाई एक ठाउँमा ल्याउने काम भने सुजाता कोइरालाले गरिरहेकी छन् । निवासमा ‘लञ्च मिटिङ’देखि जीपी कोइराला प्रतिष्ठानको कार्यक्रममा उनले शशांक, शेखर दुवैलाई सँगै एक ठाउँमा उभ्याएकी छन् । उनीहरूले आफ्नो सक्रियता देखाउन प्रतिष्ठानको राम्रै उपयोग गरेका छन् । आफू सभापति दाबी गर्दै आएका शशांक, शेखरले ती मञ्चमा भने साझा दाबी गरेका छन्, ‘कोइराला परिवारबाट एक जना सभापतिको उम्मेदवार बन्छौँ ।’
शशांक–शेखर शीतयुद्ध
उमेरले शेखर दाइ भए पनि पार्टीभित्र शशांक ‘दाइ’ हुन् । कांग्रेसभित्र उमेर कम भए पनि पदमा रहेकालाई दाइ भन्ने चलन जो छ । शशांक शेखरबीच मतभेदको सुरुवात कहिलेबाट भयो त ? उनीहरूका निकटस्थहरू भन्छन्, ‘मतभेदको बिउ १३औँ महाधिवेशनको पूर्वसन्ध्याबाट रोपिएको हो ।’ रामचन्द्र पौडेल समूह महाधिवेशनमा उठ्ने ‘सेट’ तयार गर्न बैठक बस्यो । बैठकमा सहभागी थिए– दिलबहादुर घर्ती, दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, शेखर, शशांक, सुजाता कोइराला, रामशरण महत, प्रकाशमान सिंह, रामचन्द्र पौडेल ।
पौडेल सभापति हुने भएपछि शेखरको महामन्त्री बन्ने आकांक्षा थियो । तर बैठकमा सुरुमै शशांकले महामन्त्री लड्ने आकांक्षा व्यक्त गरे । बैठकमा कोही बोलेनन् । शेखर शशांकले आकांक्षा राखेपछि मौन बसे । ‘तर त्यतिबेला शेखरको अपेक्षा पौडेलले आफ्नो नाम लिइदिऊन् भन्ने थियो’, त्यतिबेला बैठकमा सहभागी कोइराला निकट एक नेताले भने, ‘पौडेलले मुख खोलेनन् । त्यसपछि शेखर बैठकमा केही बोलेनन् तर उनी रामचन्द्रसँग रिसाए ।’
दुवैले सभापतिको आकांक्षा राखेका छन् । कोइरालाभित्र पनि वीपी पुत्र शशांकको अंक एक नम्बरमा छ भने त्यसपछि गिरिजाप्रसादकी छोरी भएकाले सुजातालाई सहुलियत छ ।
शेखरले पौडेलसँगको असन्तुष्टि नेपाल विद्यार्थी संघको निर्वाचनमा पोखेको उनी बताउँछन् । पौडेलले मनोजमणि आचार्यलाई सभापति उठाए तर शेखरले आनन्द त्रिपाठीलाई उठाए । त्रिपाठीले निर्वाचन त जितेनन्, पौडेल समूहको मत काटेर पराजित गराइदिन भने सफल भए । सक्रियताका हिसाबले शेखर आफूलाई शशांकभन्दा अब्बल मान्छन् । उनले आफू निकटस्थहरूसँग आफैँलाई सभापतिका लागि योग्य भएको दाबी प्रस्तुत गर्दै आएका पनि छन् ।
कोइरालाहरू मिल्ने कि सकिने ?
संसदीय दलको नेतामा पौडेल समूहले शशांकलाई शेरबहादुर देउवाविरुद्ध उठ्न आग्रह गर्यो । उनी तयार नभएपछि नेता प्रकाशमान सिंह उम्मेदवार बन्न तयार भए । पौडेल समूहको मत घट्यो, शंका शशांकमाथि पर्यो । कोइरालाहरूले नेतृत्व गर्दै आएको तर १३औँ महाधिवेशनपछि पौडेल मूल नेतृत्वमा रहेको सो समूहभित्र शशांकलाई शंकाको दृष्टिले हेर्न सुरु भयो । उता, सभापति शेरबहादुर देउवाले ‘कांग्रेस कोइरालाहरूको मात्र विर्ता होइन’ भनिदिएपछि कोइराला परिवारको अघि चुनौती देखापरेको छ ।
पछिल्लो समय तीन कोइराला एउटै मञ्चमा देखिनु त्यसैको प्रभाव हुनसक्ने कांग्रेस निकट विश्लेषकहरू बताउँछन् । आउँदो महाधिवेशन आफूहरू एक हुँदा विरासत फर्काउने अवसर हुनसक्ने विश्लेषणका साथ अहिले कोइरालात्रयले सक्रियता बढाएका छन् । मिल्दा पनि विरासत फर्काउन कोइरालाहरूलाई सहज नभएको देउवा निकटहरूको आँकलन छ ।
अब के ? यस्तो छ इतिहास
शशांक पार्टी महामन्त्री छन् । उनी सभापतिको स्वाभाविक आकांक्षीका रूपमा छन् । तर महामन्त्रीका रूपमा उनले खेलेको भूमिकामा पौडेल समूह सन्तुष्ट छैन । सभापति देउवासँग बढी नै उदार देखिएको आरोप आफ्नै समूहबाट शशांकले खेप्दै आएका छन् । शेखर केन्द्रीय समितिको वरीयतामा तल छन् । तर सक्रियता शशांकको भन्दा शेखरको बढी छ । दुवैले सभापतिको आकांक्षा राखेका छन् । कोइरालाभित्र पनि वीपी पुत्र शशांकको अंक एक नम्बरमा छ भने त्यसपछि गिरिजाप्रसादकी छोरी भएकाले सुजातालाई सहुलियत छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेकी सुजाता पार्टीमा शशांक र शेखरभन्दा सिनियर पनि हुन् । तर उनले आफू सभापतिको दौडमा नरहेको सन्देश दिइसकेकी छन् । केशव कोइरालाका छोरा शेखर र वीपी पुत्र शशांक मिल्लान् कि नमिल्लान् ? कोइरालाहरूको इतिहास हेर्दा अहिले नै दाबी गर्न नसकिने पुराना कांग्रेसी बताउँछन् । कांग्रेसमा वीपीले नै दाजु मातृकाप्रसादलाई पार्टीबाट निष्काशन गरेको इतिहास छ, जतिबेला पार्टी सभापति र प्रधानमन्त्री दुवै मातृकाप्रसाद नै थिए ।
कोइराला परिवारसँग कुनै बेला नजिक रहेर काम गरेका व्यक्ति हुन्, विश्लेषक पुरञ्जन आचार्य ।
‘भावना बोकेको, बाउबाजेको छाताबाट सुगन्ध फालेको त शशांक कोइरालाले हो नि ! वीपीकै छोरा साक्षात् । तर उनी महामन्त्री भएर केही पनि गर्न सकेनन् भन्ने आरोप पनि छ । पब्लिकमा पनि उनी राम्रोसँग आइरहेका छैनन्’, आचार्यले शशांक र शेखरबारे विश्लेषण गर्दै भनेका छन्, ‘तर शेखर कोइराला पब्लिकमा पनि आएका छन् । अलिकति बोल्छन् पनि । इस्यु पनि निकाल्छन् । २१औँ शताब्दीलाई चाहिने केही गुण उनमा पनि छ ।’
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५