काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एक वर्षयता एजेण्डाबिहीन देखिएको छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनबाहेक २०४६ यता सबैभन्दा धेरै समय कांग्रेसले सरकार सञ्चालनको अवसर पाएकाले हुनसक्छ, प्रतिपक्षमा बस्नु कांग्रेसका लागि रुचिको विषय बन्दैन । लामो समय सत्ताको बागडोर सम्हालेको कांग्रेसले विस्तारै राष्ट्रिय राजनीतिमा पकड गुमाउँदै गएको छ ।
तर नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर निर्वाचनमा गएपछि ०७४ सालको निर्वाचन कांग्रेसका लागि दुखद् बन्न पुग्यो । निर्वाचनअघि प्रहरी महानिरीक्षक र प्रधानन्यायाधीश प्रकरणमा आलोचित बनेर निर्वाचनमा गएको कांग्रेसका लागि दुई कम्युनिष्ट पार्टीको एकता फलामको चिउरा सावित भयो ।
संघमा मात्र होइन, ७ प्रदेशमध्ये कुनै पनि प्रदेशमा कांग्रेसले सरकार गठन गर्न त सकेन नै, बलियो प्रतिपक्षी दलसमेत बन्न सकेन । पार्टीको १३औँ महाधिवेशनपछि नेतृत्वमा सभापति शेरबहादुर देउवा आए पनि गुट उपगुटको आन्तरिक सकस उस्तै रह्यो । सांगठनिक रूपमा कमजोर, राजनीतिक रूपमा प्रतिरक्षात्मक बन्न पुगेको कांग्रेसमा न गति देखियो, न यसले सही दिशा नै पक्रन सक्यो । प्रतिपक्षमा रहेर के गर्ने ? भन्ने सवालमा कुहिरोको कागका रूपमा कांग्रेस रुमल्लिएको छ यतिखेर ।
वाइडबडी प्रकरण : तैँ चुप, मै चुप
सार्वजनिक लेखा समिति सदस्य रहेका कांग्रेस सांसद राजेन्द्र केसी संयोजक रहेकोे समितिले खुलासा गर्यो– वाइडबडी जहाज खरिद प्रकरणको अनियमितता । वाइडबडी घोटाला प्रकरणमा छानबिनको माग गर्दै कांग्रेसले संसद ततायो । वाइडबडीको पुत्ला बोकेर कांग्रेसका भ्रातृसंस्थाहरू सडक दौडमा उत्रिए । तर, जब वाइडबडी घोटालामा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएर आयो, कांग्रेसको आन्दोलन विस्तारै सुस्तायो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएर बनेको सरकारका लागि वाइडबडी प्रकरणमा भएको ठूलो भ्रष्टाचार ‘घाँटीमा माछाको काँडा हुने हो कि भन्ने नागरिकको अपेक्षा कांग्रेस नै तैँ चुप, मै चुप भएपछि निराशामा परिणत भयो ।
कमजोर प्रतिपक्षी : संसदमा अलमल
नेपालमा कांग्रेस संसदीय व्यवस्थाका लागि नेतृत्व गरेको पार्टी हो तर पछिल्लो समय संसदमा उसको उपस्थिति र भूमिका हेर्दा संसदीय व्यवस्थामा पछि आएका दलहरूभन्दा कमजोर देखिएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउँदा संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलले आलोचनात्मक समर्थनसम्म गर्ने गर्छन् । तर कांग्रेसले सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउँदा के गर्ने भन्ने चालै पाएन । नीति तथा कार्यक्रम नेपालको इतिहासमै पहिलो पटक प्रतिपक्षीको समेत पूर्ण समर्थनमा पारित भयो । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ नीति तथा कार्यक्रम पारित हुँदा कमजोरी भएको स्वीकार गर्छन् ।
पछिल्लो समय प्रतिपक्षीको भूमिका संसदमा कमजोर भएको भन्दै कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकमै लिखित रूपमै संसदमा पार्टीको भूमिकाको आलोचना गरे । अन्य नेताहरू पनि संसदमा कांग्रेसको कमजोर भूमिका देखिएकामा सन्तुष्ट छैनन् । संसदमा आफुले उठाएका कुनै पनि कुरामा कांग्रेस टिकिरहन सकेन । सभामुख र उपसभामुख एउटै पार्टीबाट हुनुहुँदैन भन्ने आवाज उठाए पनि सम्बोधन हुन सकेन । प्रतिपक्षी दलको भूमिका र पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने दुईवटै पाटोमा कांग्रेस चुकेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा विभिन्न आयोगमा प्रमुख सिफारिस हुँदासमेत कांग्रेस निरीह देखियो । विश्लेषक सुरेन्द्र केसी संसदमा कांग्रेसले प्रतिपक्षीको भूमिकानै खेल्न नसकेको बताउँछन् ।
आन्तरिक विवादको ‘म्युजिकल चियर’
कांग्रेसलाई कम्युनिष्ट पार्टीहरूले यथास्थितिवादी पार्टीका रूपमा चित्रण गर्छन् । कांग्रेसको गति र दिशा हेर्दा निकै सिथिल देखिन्छ । नेताहरूको चुनावी परिणामपछि गएको सातो अझै आइनसकेको अवस्थामा छन् । कार्यकर्तामा ऊर्जा भर्ने कुरा त टाढै रह्यो, आफ्नै ‘भोलि’ के हुने चिन्ताले ग्रस्त छन् । आफ्नो भोलि सुरक्षित गर्न उनीहरूको आज ‘गुट’मा सीमित बनेको छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र तल्लो तहमा आशा गरिएका युवा गगन थापासम्म गुट बलियो बनाउने अभियानमा समय खर्चिरहेका छन् । गुटमा उनीहरूको भित्री प्रशिक्षण उस्तै छ– गुट पहिला, त्यसपछि पार्टी । सिंगो पार्टीको नेता, कार्यकर्ता भेट्न कांग्रेसमा मुस्किल छ । कांग्रेसभित्र कांग्रेस होइन, देउवा, पौडेल, सिटौलाका गुटियारहरू मात्र भेटिने गरेको असली कांग्रेसीहरू गुनासो गर्छन् । उनीहरू निकटस्थ नेता कार्यकर्ताको प्राथमिकता तिनै गुटका मुखियालाई बलियो बनाउनेछ ।
गुट उपगुटमै आफैँभित्र अल्मलिन पुग्दा कांग्रेस न सडकमा सशक्त देखिएको छ, न त सदनमै प्रभावी हुन पुगेको छ । महासमिति बैठकमा एक भएको घोषणा गरेको भोलिपल्टैबाट तीक्तता देखिएको कांग्रेस अझै विधानमै बहसमा रुमल्लिएको छ ।
डा. केसीको त्यान्द्रो समात्ने असफल प्रयास
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि कांग्रेसले सरकारलाई प्रहार गर्न प्रयोग गरेको बलियो हतियार थियो, डा. गोविन्द केसीको अनसन । तर कांग्रेसले डा. केसीले चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर अनसन बसेपछि थोरै त्राण पायो । सत्तारुढ दलले लोकतन्त्रमा संसदभित्रको अंकगणित महत्त्वपूर्ण हुने भन्दै अनसनलाई सुनेन । दुई तिहाई बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित भयो ।
कांग्रेसले संसददेखि सडकसम्म गरेको आन्दोलन बेमौसमको बाजा भयो । अन्ततः केसीले अनसन तोडे । केसीको अनसनको बलमा सरकारमाथि जाइलाग्ने कांग्रेस रणनीति बीचैमा तुहियो । केसीकै केही समर्थकले डा. केसीको मुद्दालाई राजनीतीकरण गरेको भन्दै कांग्रेसको आलोचनासमेत गरे ।
बिर्संदै निर्मला पन्त प्रकरण
पछिल्लो समय सेलाउँदै गएको छ– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण । एउटी अबोध बालिकाको बलात्कारपछि हत्या भएको महिनौँ भइसक्दा पनि अपराधी पत्ता लागेका छैनन् । घटना भएको केही समयसम्म कांग्रेसले संसददेखि सडकसम्म पन्तको विषयलाई उचाल्दै सरकार शान्ति सुरक्षा कायम गर्न विफल भएको कुरा स्थापित गर्न खोज्यो ।
यस प्रकरणको अनुसन्धानका लागि भनेर विभिन्न समितिहरू गठन भए । धेरै टोली अध्ययनका लागि भन्दै कञ्चनपुर घटनास्थल पुगे । अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन ।
सरकारलाई सत्यतथ्य बाहिर ल्याउन दबाब दिनुपर्ने प्रमुख प्रतिपक्षीले यो प्रकरण बिर्सिसक्यो । कुनै एजेण्डा उठाउने र केही दिनमै त्यसलाई बिर्सने गरेकामा पार्टीभित्रै पनि तीव्र असन्तुष्टि देखिएको छ ।
आन्तरिक किचलो : रचनात्मक प्रतिपक्षी भूमिकामा बाधक
केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा कांग्रेस सत्तामा छैन । स्थानीय तहको सरकारमा करिब एक तिहाईमा कांग्रेस नेतृत्व छ । तर अरू तहका सरकारमा कांग्रेस संख्यात्मक रूपमा कमजोर उपस्थितिमा छ । संघीय संसद र प्रादेशिक संसद दुवैमा प्रतिपक्षीको भूमिका कमजोर भएको भन्दै पार्टीभित्रै नेतृत्वको आलोचना भइरहेको छ ।
दुई तिहाईको बलियो कम्युनिष्ट सरकार भएका बेला कांग्रेस एक ढिक्का हुनुपर्नेमा आन्तरिक विवादमै रुमल्लिँदा प्रभावकारी प्रतिपक्षीको भूमिकासमेत खेल्न सकेको छैन । केन्द्रीय सदस्य कल्याण गुरुङ संसदमा प्रतिपक्षीको भूमिका कांग्रेसले राम्रैसँग खेलिरहेको दाबी गर्छन् तर नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा भने कमजोरी भएको उनको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा संसदमा तोडफोड र सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नुलाई कांग्रेस कमजोर भयो भनेर भन्न नमिल्ने तर्क गर्छन् ।
‘कांग्रेसको शालीनतालाई कमजोरीका रूपमा हेरिनुहुन्न’, प्रवक्ता शर्मा भन्छन्, ‘आगामी दिनमा आवश्यकताअनुसार संसद र सडक दुवैतिर विनम्रताका साथ बुलन्द ढंगले कांग्रेसले भूमिका निर्वाह गर्छ ।’
नातावाद, कृपावाद : संगठन कमजोर, पार्टी भ्रष्टतातिर
पार्टीभित्र नातावाद र कृपावाद हावी हुँदै जाँदा दुःख गरेका नेता, कार्यकर्ता निराश बन्दै गएका छन् । आफू निकटलाई बाहेक अन्यलाई भूमिका दिनै नचाहने नेतृत्वको मनोविज्ञानले भ्रातृ संस्थादेखि पार्टी संगठनसमेत कमजोर बनिरहेका छन् । कांग्रेस नेता धनराज गुरुङ पार्टीभित्र ‘धनवाद र डनवाद’ हावी भएको तर्क गर्छन् । नेविसंघ विघटन भए पनि तदर्थ समितिमा ल्याउने आफू निकटको उपयुक्त पात्र नभेट्दा नेविसंघको समिति बन्न सकेको छैन । तरुण दल गठन भएको वर्ष बितिसक्दा पनि चार जनाकै भरमा चलिरहेको छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र स्वर्गीय खुमबहादुर खड्का समूहबाट एक एक जना प्रतिनिधि राखेर तरुण दल चलिरहेको छ । नेताहरूले कार्यसमिति विस्तार नगरिदिँदा तरुण दलको कार्यसमितिले कहिले पूर्णता पाउने हो, टुंगो छैन ।
कता अलमलियो कांग्रेस ?
कांग्रेसको वर्तमान अवस्था केन्द्रदेखि प्रदेशसम्म ठीक नभएको बताउँछन्, विश्लेषक पुरञ्जन आचार्य । कांग्रेस दर्शन र राजनीतिक सिद्धान्तको विषयमा फसेको उनको बुझाइ छ । ‘कुन चिजलाई समात्दा आइडोलोजी समातेको हुन्छ ? कुनलाई समात्दा दर्शन समातेको हुन्छ ? र कुनलाई समात्दा सिद्धान्त समातेको हुन्छ ? यी कुराहरू नछुट्याईकन कांग्रेसले आफ्नो गन्तव्य सुरु गर्न सक्दैन’, आचार्य भन्छन् ।
ठूलै कसरतबिना कांग्रेस पुरानो अवस्थामा नफर्कने दाबी गर्छन् अर्का विश्लेषक जैनेन्द्र जीवन । ‘सरकारले डेलिभर गर्न सकेको छैन । आलोचना गर्न मिल्ने थुप्रै कुरा छन्’, उनी भन्छन्, ‘तर कांग्रेसको पक्षमा लहर आएको छैन । चार वर्षपछि पनि दुई तिहाई नआए पनि कम्युनिष्ट पार्टी नै पहिलो हुन्छ ।’ उनीे कांग्रेसमा प्रतिपक्षमा बस्ने मानसिकता नै नभएको बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५