काठमाडौं ः त्रिभुवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो ।
परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।
पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा ४ विषयमा उत्तीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे ।
नियमित ५ वटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्कसिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर, परीक्षा दिएको १ वर्षसम्म पनि यसको अत्तोपत्तो छैन ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा यस्तै समस्या लिएर पुगेका थिए, जनकपुरका श्यामसुन्दर यादव । उनकी छोरी चन्द्रिका कुमारीले स्नातक परीक्षा पास गरिन्, मार्कसिटमा पनि पास भएकै आयो तर ट्रान्सक्रिप्टमा गयल अर्थात् ‘एब्सेन्ट’ देखायो ।
छोरीको बिग्रेको लब्धाङ्कपत्र सच्याएर ट्रान्सक्रिप्ट लिन बल्खु धेरै पटक गए । तर, कर्मचारीले पनि राम्रोसँग नबुझाएको र हैरानी खेप्नुपरेको उनको भनाइ छ । माथिका घटना त केही प्रतिनिधिमूलक मात्र हुन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ ।
हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपाईंको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय, देशभरिका अधिकांश विद्यार्थीको भविष्य जोडिएको ठाउँ पनि हो ।
देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोहीअन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको बताए । ‘उत्तरपुस्तिका खोजी गरिरहेका छौं, अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्नेछौं ।’
परीक्षा नियन्त्रण कार्यालयले सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा रहेर विद्यार्थी तथा सङ्गठनभित्रका थुप्रै कार्य गर्नेगर्दछ । यस शाखालाई जिम्मेवारीको हिसाबले विद्यार्थीसँग सबैभन्दा नजिक रहेर विद्यार्थीको कार्यसम्पादन गर्नुपर्ने केन्द्र भनेर बुझ्न सकिन्छ । तर, यस्तो जिम्मेवार निकायको सानो गल्तीका कारण सयौं विद्यार्थीको भविष्य अन्योल बनेको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट हुने कार्य ट्रान्सक्रिप्ट वितरणको हैरानी त छँदै छ, त्यहाँ भएका कमी कमजोरीका कारण रजिस्ट्रेसन नम्बर पनि गलत आउँदा तथा उत्तरपुस्तिका हराउनेलगायतका थुप्रै हैरानी विद्यार्थीले नै खेप्ने गरेका छन् । ‘देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा बेथितिको जालो वर्णन गरी साध्य छैन । अझै त्रिविकै परीक्षा नियन्त्रण कार्यालय बल्खु त विद्यार्थीको ट्रान्सक्रिप्ट, मार्कसिट, रजिस्ट्रेसन र उत्तरपुस्तिका सन्दर्भमा कर्मचारीको चरम लापर्वाहीदेखि धाँकधम्कीसम्मको सामना गर्नुपर्ने हुन्छ,’ एक विद्यार्थीले भने ।
हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या धेरै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेसन नम्बर फरक त कसैको नाम नै गलत आउने गर्छ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयं आफैंले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ ।
विद्यार्थीले नगरेका गल्तीमा पनि पुनःशुल्क तिर्नुपर्ने तर पनि सजिलैसँग काम नहुने गरेको अवस्था त्रिविविमा रहेका छन् । यति मात्र होइन, त्रिविमा विचौलिया प्रवृत्ति पनि फस्टाउँदै गएको छ । सम्पूर्ण प्रक्रिया पुर्याएर विद्यार्थीले आफ्नो मार्कसिटलगायतको प्रमाणपत्र पाउँ भन्दै निवेदन दिँदासमेत प्रमाणपत्र पाउँदैनन् । कर्मचारीले केही न केही सानो कमजोरी देखाएर पन्छिँदै केही दिनको भाका राख्ने गरेको बानेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत सिन्धुलीका सुशील घिमिरे बताउँछन् ।
परीक्षा नियन्त्रण कार्यालय जस्तो देशभरका सेवाग्राही आउने शाखामा आवश्यक सूचना पाटीसमते छैनन् । कुन काम कुन कोठाबाट हुन्छ भन्ने सामान्य जानकारीसहितको कुनै पनि बोर्ड त्यहाँ भेटिँदैनन् ।
देशकै पुरानो र ठूलो विश्वविद्यालयको परीक्षा नियन्त्रण शाखाले कर्मचारी व्यवस्थापनलाई सबल, सुदृढ र प्रभावकारी बनाउन आवश्यक छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५