काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब १५/१५ दिनमा तलब भुक्तानी गर्ने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न जानकारी गराएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन।
महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयअनुसार अब प्रत्येक महिना १५ दिन पूरा भएपछि कर्मचारीलाई तलब तथा भत्तासमेत भुक्तानी गरिनेछ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भए आवश्यक व्यवस्था मिलाउनसमेत कार्यालयले निर्देशन दिएको छ।
सरकारले अर्धमासिक तलब भुक्तानीको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि नै सबै संघीय निकायमा यो व्यवस्था लागू गर्ने घोषणा भए पनि प्रणाली विकासमा भएको ढिलाइका कारण कार्यान्वयन करिब एक महिना पछाडि सरेको हो।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३