दुई ठूला कम्युनिष्ट पार्टीको एकता सम्पन्न भएको लामो समयपछि नेकपाले केही दिनअघि मात्र सातवटै प्रदेश कमिटिका अध्यक्षहरुको टुंगो लगाएको छ । पार्टीले प्रदेश कमिटि निर्माण थालेर एकता प्रक्रियालाई तीब्रता दिन खोजेसँगै प्रदेश नं १ को अध्यक्षको जिम्मेवारीमा आएका छन्– देवराज घिमिरे । २०२४/२५ सालतिर बाम विद्यार्थी राजनीतिमा क्रियाशील रहेका घिमिरे तत्कालीन राज्यसत्ताले २०२९ सालमा जेल सार्ने बहानामा पाँचजना कम्युनिष्ट नेताहरुलाई सुखानीको जंगलमा लगेर हत्या गरेको सुनेपछि आफूमा विद्रोही भावनाको विकास भएको र कम्युनिष्ट राजनीतिमा पूर्ण रुपमा होमिएको बताउँछन् । पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाम जिल्लामा पार्टी संगठन निर्माणमा सक्रिय भूमिका खेलेका घिमिरेसँग विभिन्न समयमा जिल्ला पार्टी प्रमुख, अञ्चल ईञ्चार्ज र केन्द्रीय विभागको प्रमुखको रुपमा काम गरेको सांगठनिक अनुभव छ । नवौं महाधिवेशनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहयोगीको जिम्मेवारीमा रहेका घिमिरे एक कुशल संगठक र इमान्दार छविका नेता मानिन्छन् । प्रस्तुत छ– नेकपाको प्रदेश नं १ का अध्यक्ष घिमिरेसँग पार्टी एकता प्रक्रिया र केन्द्र एवम् प्रदेश सरकारका काम कारबाहीका सन्दर्भमा केन्द्रित रही आजको न्यूज डटकम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी :
लामो समयपछि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा आउनुभएको छ । कस्तो महशुस भइरहेको छ ?
– तपाईले भनेजस्तो म पहिलो पटक महत्वपूर्ण जिम्मेवारीमा आएको होइन । यसअघि कम्युनिष्ट पार्टीमा आवद्धताकालदेखि नवौं महाधिवेशनको बिचसम्ममा मैले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेको छु । खासगरि पार्टी र मुलुक अत्यन्तै जटिल अवस्थामा भएका बेलामा मैले महत्वपूर्ण जिम्मेवारी पाउने गरेको छु । यतिबेला पनि दुई ठूला कम्युनिष्ट पार्टी एकले अर्कालाई नस्वीकार्ने परिस्थिति अन्त्य भएर एकतामा सामेल भएको पार्टीका रणनीति, कार्यनीति, व्यवहार, व्यवस्थापन र कम्युनिष्ट आन्दोलनको लोकप्रियताको रक्षा गर्नुपर्ने बेलामा अर्काे महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । यसलाई सही ढंगले व्यवस्थापन गरेर पार्टीको नीति, विचार र सिद्धान्तका आधारमा सिंगो नेता र कार्यकर्ता पंक्तिलाई एक ठाउँमा उभ्याउनुपर्ने यूगीन जिम्मेवारी देखिन्छ ।
प्रदेश नं १ मा पार्टी एकता प्रक्रिया कसरी अगाडि बढ्दैछ ? कहिलेसम्म टुंग्याउनुहुन्छ ?
– वास्तवमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई पार्टी मिलेर चुनावमा होमिएदेखि नैं पार्टी एकतामा सहजता सुरु भइसकेको थियो । पछिल्लो पटक पार्टी एकताको ऐतिहासिक घोषणाले त्यसलाई थप उचाइमा पुर्यायो । मैले प्रदेश कमिटिको अध्यक्षको जिम्मेवारी पाएको १४/१५ दिनको बिचमा साथीहरुमा जसरी पार्टी एकताको रफ्तार बढ्ने अपेक्षा देखिएको छ, त्यही अनुरुप हामी छिटोभन्दा छिटो एकतालाई पूर्णता दिनेतिर लागिरहेका छौं । १ नं प्रदेशका १४ वटै जिल्लामा एकताका निम्ति कार्यदलहरु निर्माण भइसकेका छन् । यतिबेला संयुक्त बैठकहरु बस्ने, रेकर्डहरु व्यवस्थित गर्ने, कार्यालयको टुंगो लगाउने, आयव्ययमा एकरुपता ल्याउने एवम् सदस्यता व्यवस्थित गर्ने लगायतका कामहरु भइरहेका छन् । मेरो विचारमा पार्टी केन्द्र र प्रदेशको एकता टुंगिएपछि जिल्ला तहको एकता तुरुन्तै सम्पन्न हुन्छ । हाम्रो प्रदेशमा सातवटा जिल्लामा पूर्व एमालेको नेतृत्व सम्हालिरहेका साथीहरुमध्येबाट नेतृत्व गर्ने सहमति भइसकेको छ भने बाँकी सातवटा जिल्लामा कसले जिम्मेवारी पाउने भनेर छलफल चलिरहेको छ । सम्भवतः दशैंअगाडि नैं पार्टी एकताको काम सम्पन्न हुन्छ ।
तर, पार्टी एकताको विषयलाई लिएर पूर्वएमालेभित्र नैं विवादहरु बढिरहेको देखिन्छ । यसको खास कारण के हो ?
– तपाईले भनेजस्तो हाम्रो पार्टीमा एकताको विषयलाई लिएर विवाद बढिरहेको म देख्दिनँ । पार्टी एकताको उद्देश्य र कार्यक्रमहरु एकदम स्पष्ट छन् । हामीले समाजवादी बाटोबाट समाजवादमा जाने लक्ष्य बोकेर पार्टी एकता गरेका हौं । त्यसैको आधारमा चुनावी घोषणापत्रहरु निर्माण गरेका हौं । कम्युनिष्ट पार्टीको आगामी बाटो र क्रान्तिको सिद्धान्त लगायतका वैचारिक विषयहरुमा महाधिवेशनपूर्व ‘जनताको जनवादी कार्यक्रम’ भनेर जाने पूर्वसहमतिबमोजिम पार्टी नेतृत्व काम गरिरहेको छ । सबैभन्दा पहिलो कुरा भनेको पार्टीको सांगठनिक एकता हो । सांगठनिक एकता सम्पन्न भएपछि विचारमा प्रवेश गर्ने हो । साँच्चिकैको एकताका लागि नेताहरुले आत्मकेन्द्रित सोच त्याग्नु जरुरी छ । पार्टीभित्र देखिएको आत्मकेन्द्रित राजनीति समाप्त भएन भने सिंगो कम्युनिष्ट आन्दोलनलाई नैं घाटा हुन्छ । दुई फरकफरक विचारधारा र स्कुलिङबाट आएका नेता कार्यकर्ताहरुको व्यवहार चिन्तन, शैली, सोच र दृष्टिकोणका बिचमा एकता गर्न केही समय लाग्न सक्छ । तर, सिंगो कम्युनिष्ट आन्दोलनको उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीको एकता अपरिहार्य विषय हो । त्यसकारण एकताको विषयलाई लिएर भइरहेका सामान्य टिकाटिप्पणीहरुलाई ठूलै विवाद भयो भन्ने ढंगले बुझ्न आवश्यक छैन ।
पार्टीभित्रैबाट र बाहिरबाट अहिलेको बामसरकारले प्रभावकारी काम गर्न नसकिरहेको आरोप लागिरहेको छ, के भन्नुहुन्छ ?
– खासगरि पार्टीभित्रैबाट सरकारले काम गर्न सकिरहेको छैन भनेर आरोप लाग्ने गरेको मलाई थाहा छैन । सामान्यतया प्रश्नहरु उठ्नु त्यति अस्वभाविक पनि होइन । त्यसले सरकारलाई फाइदै पनि गर्छ । तर, जुन बाहिरबाट सरकारमाथि प्रहार भइरहेको छ यो भने अत्यन्तै योजनावद्ध र श्रृंखलावद्ध रुपमा भइरहेको छ । कतिसम्म भने चारपाँच बर्षअगाडि बलात्कार काण्डमा मुछिएका तपस्वी रामबहादुर बम्जनको घटनालाई समेत यतिबेलै भयो भनेर प्रचार गर्न थालिएको छ । समाजमा भइरहेका बलात्कार, अन्याय र भ्रष्टाचारजस्ता अपराधहरु यही सरकार निर्माण भएपछि सुरु भए भन्ने ढंगले विपक्षीहरु प्रहार गरिरहेका छन् । त्यसैले उनीहरुले सरकारलाई काम गर्न नदिएर असफल बनाउने षड्यन्त्र रचिरहेका छन् । यो कुरा सरकार र पार्टी नेतृत्वलाई राम्रोसँग अवगत छ । यस्ता आरोपहरुको कुनै अर्थ छैन ।
तर, जनअपेक्षा बमोजिम सरकारले काम गर्न नसकिरहेको त सत्य हो नि ?
– त्यस्तो होइन । किनभने संघ, प्रदेश र स्थानीय सरकारहरुलाई सबैभन्दा पहिले विकासको एउटा प्रणाली समात्न नैं केही समय लाग्यो । अझैपनि प्रदेश र स्थानीय तहहरुमा संघीयताको मर्मलाई बुझेर काम गर्ने अभ्यास भइरहेको छ । तपाईले भनेजस्तो इतिहासमै पहिलोपल्ट संघीयतामा गएको मुलुक भएको हुनाले प्रदेश र स्थानीय सरकारमा केही अन्यौलता देखिन्छ । अर्काेतर्फ तीनै तहका सरकारहरुले काम थालनी गर्नुअगाडि नीति तथा कार्यक्रमहरु तय गर्न केही समय लाग्यो । अब नीतिहरु बनिसकेको अवस्था छ । सबै तहका सरकारहरुले काममा तीब्रता बढाइरहेका छन् । नीतिनिर्माणको काम सम्पन्न भइसकेपछि सरकार पूर्ण रुपमा पूर्वघोषित उद्देश्य र कार्यक्रमका साथ विकासनिर्माणमा जुटिरहेको छ । अब जनअपेक्षाहरु पूरा हुनेमा विश्वास बढेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५