संघीय संसदमा जनसरोकारका महत्वपूर्ण विषयहरु उठाउँदै आएका मुगु जिल्लाबाट निर्वाचित सांसद मोहन बानियाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुगु र कालीकोट जिल्लाका ईञ्चार्ज पनि हुन् । सांसदमा निर्वाचित भइसकेपछि उनले मुगु जिल्लाका मात्र नभई समग्र कर्णालीकै केही संवेदनशील विषयहरुबारे निरन्तर सदनमा आवाज उठाइरहेका छन् । पछिल्लो समय मुगु जिल्लाको समग्र विकासनिर्माणको गति, नेकपाको एकता प्रक्रिया र केही समसामयिक विषयहरुमा केन्द्रित रही सांसद बानियाँसँग आजको न्यूज डट कम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त संवाद :
तपाईको पहलमा मुगु जिल्लामा भइरहेका विकास निर्माणका कार्यहरु केके रहेका छन् ?
– मैले खासगरि मुगु जिल्ला र त्यो सँगसँगै समग्र कर्णालीको विकास निर्माणका निम्ति काम गरिरहेको छु । मुगु जिल्ला सभापति हुँदा पश्चिम नेपालकै सबैभन्दा ठूलो रारा पर्यटन महोत्सव आयोजना गरी जडिबुटी र पर्यटनको विकास एवम् विस्तार थालिएको थियो । जिल्लाको सडक गुरुयोजना मेरै सभापतित्व कालमा अगाडि सारिएको हो । यसैगरि उत्तरदक्षिण कर्णाली करिडोरभित्र पर्ने त्रीदेशीय सिल्क रोड र रारालाई ७ नं प्रदेशसँग जोड्ने बाजुरा–गमगढी पर्यटन पहुँच मार्ग सञ्चालनमा पनि मैले महत्वपूर्ण भूमिका खेलेको थिएँ । यतिबेला रारा राष्ट्रिय निकुञ्जको कोर एरियामा नेपालका केही भूमाफियाहरु मिलेर २ सय हेक्टरको ताल वरिपरिको जग्गा ४९ बर्षको लागि भाडामा लगेर नेपालकै ठूलो सेवेन स्टार डिलक्स होटल स्थापना गर्न खोजिएको सन्दर्भलाई रोक लगाउन सफल भएको छु । कर्णालीलाई जडिबुटीको हर्बलजोन बनाउन सदनमा निरन्तर आवाज उठाइरहेको छु । जिल्लाको हकमा मेरो मुख्य जोड सडक, विद्युत, शिक्षा, खानेपानी र रोजगारी लगायतका जनसरोकारका विषयहरुमा केन्द्रित छ ।
तपाई प्रायः संसदमा बोलिरहनुहुन्छ, खासगरि तपाईले उठाउँदै आएका मुख्य विषय चाहिँ केके हुन् ?
– मैले संसदमा प्रायः जनताका आधारभूत समस्याहरु र सार्वजनिक सरोकारका विषयहरु बारे आफ्ना धारणाहरु राखेर सरकारलाई सचेत गराउँदै आइरहेको छु । सदनमा मैले विशेष समय लिएर उठाएका विषयहरुमध्ये कर्णाली प्रदेशलाई अर्गानिक र हर्बल जोन बनाउने कुरा, बहुचर्चित भारतीय कम्पनी अमूल दूध डेरीले बिनासम्झौता गर्न खोजेको लगानी रोक्ने कुरा, विश्वबैंकबाट सञ्चालित ३ अर्ब ६५ करोड लागतको फण्डबोर्डको खानेपानी कार्यक्रम साविककै सम्झौता बमोजिम सञ्चालन गर्ने कुरा र जैविक स्रोतको हक स्थापित गर्न नागोया अभिसन्धि सम्बन्धी विविध विषयहरु उठाउँदै आइरहेको छु । यसबाहेक जिल्लाका विकासनिर्माण एवम् सार्वजनिक सरोकारका विषयहरुबारे आफ्नो धारणा राखिरहेको छु ।
एकजना सांसदसँग जनताका अपेक्षाहरु कस्ता हुँदारहेछन् ? तपाईको अनुभूति कस्तो छ ?
– स्वभाविक रुपमा आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिसँग जनताले अपेक्षा गरिरहेका हुन्छन् । मेरो क्षेत्रका जनताको मुख्य चासोका विषयहरु भनेको रोजगारीका अवसरहरुको सिर्जना, गरिबी न्यूनीकरण र पार्टी सरकारमै भएका कारणले पनि विकासनिर्माणमा तिब्रता रहेको पाएको छु । मेरो जोड पनि यिनै विषयहरुमा बढी छ ।
सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकिरहेको गुनासो बढिरहेको सन्दर्भमा तपाई के भन्नुहुन्छ ?
– वास्तवमा म आफैले पनि यस विषयलाई गम्भीर रुपमा लिइरहेको छु । जनताले उल्लेख्य समर्थन दिएर बनेको कम्युनिष्ट पार्टीको सरकारले देशको सीमान्तकृत समुदाय, गरिब, दलित र पिछडिएका वर्ग र क्षेत्रको वास्तविक विकासको सूचकांक नहेरी विकासनिर्माणका कामहरु अघि बढाइरहेको मैले पनि महशुस गरेको छु । विकासको समानुपातिक बाँडफाँड नभएर पहुँचका आधारमा बजेट विनियोजन गर्ने पुरानै परम्परा फेरि पनि दोहोरिरहेको देखिन्छ । यद्यपि सरकार निर्माणको लामो समय नभएकाले आगामी दिनमा यस्ता समस्याहरुलाई समाधान गरेर अघि बढ्नेछौं । सरकारको यस्तो प्रतिबद्धता पनि बाहिर आइसकेको छ । हामीले जनतासँग चुनावअघि गरेका प्रतिबद्धता इमान्दारीपूर्वक पूरा गर्नुको विकल्प छैन ।
तपाईले नेतृत्व गरिरहेको नेकपा मुगु र कालीकोटको एकता प्रक्रियामा ढिलाइ भइरहेको छ, किन ?
– यसलाई ढिलाइ भइरहेको भन्दा पनि प्रक्रियामा अघि बढेको रुपमा बुझ्दा ठिक होला । दुबै जिल्लामा बनेका पार्टीका जिल्लास्तरीय संयुक्त कार्यदलहरुले मूल नेतृत्व र जिल्लाका अन्य साथीहरुको व्यवस्थापनका लागि एउटा सहमति गरेर प्रदेश कमिटिमा सिफारिश गरिसक्नुभएको छ । यद्यपि तत्कालीन एमाले र माओवादीले कसले कुन जिल्ला पाउने भन्ने टुंगिएको छैन । यो सँगसँगै नेतृत्वमा आउन चाहने आकांक्षीहरु धेरै भएकोले केही असन्तुष्टिहरुका कारणले पनि एकता प्रक्रिया अलिकति ढिलो भइरहेको हो । वास्तवमा एकता बाहिरबाट सोचेजस्तो त्यति सजिलो विषय होइन, यो त मन, मस्तिष्क र विचारको समायोजन गर्ने कुरा हो । छलफल जारी छ, केही समयभित्रै टुंगिन्छ ।
सरकार निर्माणका बेलामा तपाई मन्त्री बन्ने व्यापक चर्चा चलिरहेको थियो, तर चर्चामै सीमित भयो नि !
– यही कुरा त मैले पनि बुझ्न सकिरहेको छैन । यो पार्टी र नेताहरुले मूल्यांकन गर्ने विषय हो । दुई कार्यकाल मुगु जिल्लाको पार्टी प्रमुख भएर काम गरिसकेको, ७० सालको संविधान सभामा र अहिले गरी दुई पटक केन्द्रीय सांसद भएर काम गरेको र पार्टीको केन्द्रीय सदस्य भएर दुई जिल्लाको नेतृत्व सम्हालेर पार्टीलाई गतिशील बनाइरहेको व्यक्ति पार्टी र नेताहरुको मूल्यांकनमा किन परिरहेको छैन, यो एक आश्चर्यको विषय हो । यस सन्दर्भमा मभन्दा बढी नेताहरु नैैं जानकार हुनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५