तत्कालीन नेकपा (एमाले) को भातृसंगठन अनेरास्ववियुमा २०५३ सालमा अछामको षोडशा माविमा सह–प्राकको अध्यक्षका रुपमा जोडिएर विद्यार्थी राजनीतिमा क्रियाशीलता बढाएका एमाले अछामका यूवा नेता भीमबहादुर रावलले संगठनभित्र विभिन्न समयमा दर्जनौं कमिटिहरुको नेतृत्व सम्हालिसकेका छन् । अखिलमा रहँदा प्राक, जिल्ला र क्याम्पस कमिटिको मात्र नभई अछाम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष एवम् सेती–काठमाडौं सम्पर्क मञ्चको सचिवालय सदस्यका रुपमा समेत कुशलतापूर्वक भूमिका निर्वाह गरेका रावल पार्टीभित्र एक इमान्दार, संगठक र उच्च क्रियाशीलताका पर्यायवाची मानिन्छन् । आफ्नो तीन बर्षे कार्यकालमा सम्पर्क मञ्चलाई राप्तीपारीको प्रथम र देशभरिका सम्पर्क मञ्चमा दशौं स्थानमा पुरस्कृत गराउन सफल रावलसँग अछाममा एकीकृत पार्टी निर्माणको सन्दर्भमा उत्पन्न मनोविज्ञान, चर्चामा रहेको नयाँ जिल्ला नेतृत्व र नेता रावलको राजनैतिक जीवनका विविध आयामहरुमा केन्द्रित रही आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :
विद्यार्थी राजनीतिमा छँदा निकै क्रियाशील हुनुहुन्थ्यो, पार्टी राजनीतिमा प्रवेशपछि तपाईको सक्रियता केही घटेको हो ?
– स्वभाविक प्रश्न उठाउनुभयो । वास्तवमा अनेरास्ववियुजस्तो विशाल कार्यक्षेत्र र देशव्यापी सांगठनिक सञ्जाल रहेको नमूना संगठनमा मैले जीवनको अत्यन्तै उर्बर समय व्यतित गरेँ । करिब २०/२२ बर्ष लामो अखिल जीवनमा जिल्लामा रहँदा सहप्राकदेखि क्षेत्रिय अध्यक्ष र जिल्ला अध्यक्षको रुपमा मात्र होइन, अछाम क्याम्पसको स्ववियु सचिवको रुपमा समेत मैले सक्रियतापूर्वक काम गरेँ । उच्च शिक्षा अध्ययनका लागि राजधानीमा आएपछि त झन् मेरो सक्रियता बढेर गयो । नेपाल कमर्श क्याम्पसमा पुनः सिफ्ट कमिटिको नेतृत्व गर्दै मैले कमिटिमा क्रियाशील हुनुपर्यो । त्यहाँ पनि प्राक अध्यक्ष हुँदै स्ववियुमा समेत मेरो सहभागिता रह्यो । खासगरि त्यही समय म अखिलमा आफ्नो व्यक्तिगत जीवन पूरै बिर्सेर खटेको थिएँ । क्याम्पसको जिम्मेवारी पूरा गरेपछि वाग्मति अञ्चल कमिटि सदस्य, केन्द्रीय सदस्य एवम् वाग्मती अञ्चल सहसंयोजक, पुनः अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवम् वाग्मती अञ्चल संयोजक हुँदै अखिलको सचिवालय सदस्य र स्थायी कमिटि सदस्यका रुपमा निर्वाचित भई काम गरेँ । २२ औं राष्ट्रिय महाधिवेशनमा खुलातर्फबाट सचिवको उम्मेदवार पनि बनियो ।
यसर्थ यसरी अखिलमा जिम्मेवारीमा रहँदा जुन क्रियाशीलता आवश्यकता पर्दथ्यो र जस्तो जिम्मेवारी हुन्थ्यो, त्यस्तो जिल्ला पार्टी राजनीतिमा ढिलै जिम्मेवारी प्राप्त भएकाले कम सक्रिय जस्तो देखिन गएको हो । अहिले पनि म पार्टीका हरेक गतिविधिमा उत्तिकै सक्रियताका साथ सहभागिता जनाइरहेको छु ।
एकतापछि पार्टी विशाल बन्दैछ, रफ्तार थप बढाउनुपर्ने देखियो नि !
– कुरा ठिकै हो । तर, राजनीतिलाई समाजसेवा गर्ने उत्तम विकल्प ठानेर क्रियाशील बन्नेहरुका निम्ति एकताअघिको सक्रियता फरक र एकतापछिको सक्रियता फरक भन्ने हुदैन । व्यक्तिगत हिसाबले भन्ने हो भने यतिबेला तोकिएको जिम्मेवारी खासै नभएपनि पार्टी जिल्ला कमिटि सदस्यको रुपमा गतिविधिहरुमा जोडिइरहेको छु । एकीकृत पार्टीको निर्माणपछि पनि मेरो सक्रियतामा कुनै कमी आउने छैन । तर एउटा कुरा के हो भने निश्चित जिम्मेवारी सहितको भूमिका प्राप्त भएन भने अलि कम सक्रियजस्तो मानिसहरुलाई लाग्ने गर्दछ । साँच्चै भन्ने हो भने मैले चाहेअनुरुपको जिम्मेवारी प्राप्त नभएकाले सोचेअनुरुप सक्रिय हुन सकिरहेको छैन ।
जिल्लामा पार्टी एकतापछिको कार्यकर्ताको मनोविज्ञान कस्तो पाउनुभएको छ ?
– एकले अर्काको आलोचनामा समय व्यतित गरेका दुई ठूला र मुख्य कम्युनिष्ट पार्टीहरुबिचको एकताले अछाम जिल्लाका नेता कार्यकर्ताहरुमा पनि एकप्रकारको उत्साह पैदा गरेको छ । हिजोको पानी बाराबारको स्थितिलाई एकपटक फर्केर हेर्ने हो भने कम्युनिष्ट पार्टीले नयाँ उचाइ हासिल गरेको आभाष हुन्छ । यद्यपि वास्तविक एकताका लागि तल्ला कमिटिहरु र जनसंगठनहरुको सम्मानजनक एकताको काम बाँकी नैं छ । हाम्रो ध्यान पार्टीको एकतालाई भावनात्मक रुपमा कस्दै दीर्घकालीन एकता गर्नेतर्फ लक्षित छ ।
अछाम जिल्लाको नेकपाको नेतृत्व पूर्व एमालेको भागमा परेपनि अझै टुंगिएको छैन, विवाद बढेको हो ?
– त्यस्तो होइन, एकीकृत पार्टीको निर्माणपछि ७ नं प्रदेशका केही जिल्लाहरु जस्तै अछामको नेतृत्व गर्ने जिम्मा तत्कालीन एमालेका नेताले गर्ने कार्यदलमा सहमति भएको छ । त्यहीअनुरुप जिल्लामा लामो समय कम्युनिष्ट आन्दोलनमा संलग्न भएका र अनुभव सँगालीसकेका नेताहरु जो मापदण्डअनुसार जनप्रतिनिधि पनि छैनन्, तिनीहरुका बिचमा नेतृत्वका लागि छलफल चलिरहेको छ । केही अनुभवी नेताहरु जिम्मेवारीविहीन अवस्थामा पनि हुनुहुन्छ । प्रत्येक नेताको योग्यता, क्षमता र अनुभवका आधारमा नेतृत्वले जिम्मेवारी प्रदान गर्नेछ भन्ने लाग्छ । पार्टीको जिल्ला नेतृत्व गर्ने व्यक्ति जिल्लाको भूगोल, पार्टी संगठन र कार्यकर्ता पंक्तिमाझमा राम्ररी भिजेको हुनुपर्छ । आजको आवश्यकता भनेको पार्टीलाई राजनैतिक, सांगठनिक र वैचारिक रुपमा कमाण्ड गर्नसक्ने नेतृत्वको हो ।
अछाम जिल्लाको कम्युनिष्ट पार्टीका नेताहरु पद, अवसर र स्वार्थका निम्ति मरिहत्ते गर्छन् भन्ने आरोप छ, तपाईलाई कस्तो लाग्छ ?
– अछाममा मात्र होइन । सिंगो पार्टीमा नैं यो मूलभूत समस्याको रुपमा देखा परेको छ । पछिल्लो समय पार्टीका जिम्मेवार नेताहरु आफूलाई केन्द्रभागमा राखेर पार्टीको मूल्य, मान्यता र आदर्शलाई बिर्सेर निर्णयहरु गर्दै आएको हामीले देख्दै र भोग्दै आइरहेका छौं । यसले व्यक्तिलाई त कमजोर बनाउँछ नैं, जनताको नजरमा पार्टीलाई समेत बदनाम गराउने गर्छ । पार्टीको जिल्ला होस् वा केन्द्रको नेतृत्व, व्यक्तिवादी चिन्तनबाट ग्रसित भयो भने त्यसले पार्टी संगठनलाई ध्वस्त गर्छ र कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर बनाउँछ । व्यक्तिगत स्वार्थका लागि पार्टीमा जोडिएकाहरुसँग समयमै सचेत बन्नुपर्छ । त्यसैले आजका इमान्दार र लगनशील कम्युनिष्ट कार्यकर्ताहरुले पार्टीलाई त्यस्तो प्रवृत्तिबाट जोगाउनुपर्छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५