अखिल क्रान्तिकारीमा आवद्ध भइ लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील गंगा दाहाल संगठनभित्र एक उदीयमान विद्यार्थी नेतृका रुपमा चिनिन्छन् । हाल क्रान्तिकारीको केन्द्रीय सचिव एवम् छात्रा विभाग प्रमुखको जिम्मेवारीमा रहेकी दाहाल संगठनमा विभिन्न कमिटिहरु पार गर्दै नेतृत्वमा पुगेको बताउँछिन् । अखिल र क्रान्तिकारीबिचको एकता प्रक्रिया अन्तिम चरणमा पुगिरहेका बेला संगठनको एकता, नयाँ नेतृत्वको चयन र एकीकृत अखिलमा महिला नेतृत्वको सवालमा केन्द्रित रही दाहालसँग आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :
दुई विद्यार्थी संगठनको एकतामा किन ढिलाइ भइरहेको छ, कहिले टुंगो लाग्छ ?
– अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु यो मुलुकका सर्वाधिक ठूला विद्यार्थी संगठनहरु हुन् । देशव्यापी लाखौंलाख कार्यकर्ता र व्यापक सांगठनिक संरचना भएका संगठनहरुको एकता तुरुन्तै भइहाल्दैन । संगठन एकताका निम्ति राजनीतिक र वैचारिक विषयहरुमा एकरुपता ल्याउनुका साथै व्यवहारिक पक्ष पनि मिलाएर जानुपर्ने हुन्छ । अहिले हतारमा एकता टुंग्याउँदा भविष्यमा समस्याहरु देखा पर्न सक्छन् । त्यसकारण, भविष्यमा संगठनभित्र कुनैपनि समस्या नआऊन् भन्ने हेतुले पहिले नैं व्यापक छलफल चलेकाले केही ढिलाइ भएको हो । यद्यपि अबको दुई तीन दिनभित्र एकता प्रक्रियाले मूर्त रुप लिन्छ ।
एकीकृत अखिलको नेतृत्व क्रान्तिकारी वा अखिल कसले पाउने सम्भावना देख्नुहुन्छ ?
– सम्भावना भन्दा पनि सत्य कुरा के हो भने अनेरास्ववियुकी अध्यक्ष नविना लामाले पूर्ण कार्यकाल पूरा गरिसकेको र उहाँ संसदको जिम्मेवारीमा पनि गइसकेको कारणले बरिष्ठताको आधारमा सहमतिमै नेतृत्व चयन गरिनुपर्छ । त्यसकारण क्रान्तिकारीको अधिवेशनबाट निर्वाचित भएको एक बर्षमात्र पूरा भएको र एक बर्ष बाँकी नैं रहेको हुनाले स्वभाविक रुपमा एकीकृत अखिलको नेतृत्व क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पाउने सम्भावना देख्छु । यद्यपि नेतृत्वको विषय पार्टी नेतृत्व र एकताका लागि बनेको कार्यदलले टुंगो लगाउने भएकाले जसको नेतृत्व आए पनि स्वीकारेर अगाडि बढ्नुपर्छ ।
अखिलसँगको एकतामा प्रतिशतको भागबण्डाले क्रान्तिकारीको नेतृत्वमा रहेका धेरै नेताहरुले विदा लिनुपर्ने परिस्थिति बन्दैछ भनिन्छ, खास कुरा के हो ?
– भागबण्डा कसरी हुन्छ र सम्पूर्ण केन्द्रीय सदस्यहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने सन्दर्भमा कार्यदलले नैं अन्तिम टुंगो लगाउने हो । तथापि यस्तो ऐतिहासिक एकताको सन्दर्भमा संगठनको एकतालाई सफल पार्न र विद्यार्थी आन्दोलनलाई व्यवस्थित गर्नका लागि कुनै न कुनै तप्काले त्याग गर्नैपर्छ । विद्यार्थी राजनीतिबाट विदा लिनु भनेको समग्र राजनीतिबाट नैं विदा लिनु नभई पार्टी राजनीतिमा सिफ्ट हुनु पनि हो । पार्टीको कमाण्ड सम्हाल्न पाउने कुरा पनि महत्वपूर्ण अवसर हो ।
चर्चामा आइरहेको एकता पछि बन्ने केन्द्रीय कार्यालय र समग्र संगठनमा महिला नेतृहरुको सहभागिता कस्तो हुन्छ ?
– मैले माथि नैं भनेजस्तै यो ऐतिहासिक एकताको बेला हो । यतिबेला सिंगो विद्यार्थी आन्दोलनको रक्षा गर्नका निम्ति कुनै न कुनै तप्काले त्याग गर्न सक्नैपर्छ । एकताको बेला पनि भएको र संगठनको नेतृत्वमा पुरुषहरुको बर्चस्व भएको बेला हामीले पाउनैपर्छ भन्ने अवस्था त छैन यद्यपि एकतापछि बन्ने नयाँ संगठनमा महिला नेतृत्वको सन्दर्भलाई पुरुषहरुकै बराबरीमा ल्याउनुपर्छ । आजको समयमा नेतृत्वमा पुरुषहरुकै संख्या धेरै भएको हुनाले चर्चामा आइरहेको केन्द्रीय कार्यालयमा महिलाहरुको संख्या न्यून रहने सम्भावना छ ।
एकतापछि बन्ने संगठनको सांगठनिक संरचना कस्तो बनाउने गरी छलफल चलिरहेको छ ?
– मूलतः दुबै संगठनको यसअघिको सांगठनिक संरचनाको वरिपरि नैं रहेर भावी संरचना तय हुने हो । दुबै संगठनका नेताहरुबिच बनेको बिधान समितिले यसबारेमा केही निर्णय पनि गरेको छ । मोटामोटी भन्दा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, क्याम्पस र विभिन्न राष्ट्रिय कमिटिहरुको निर्माण गरेर अगाडि बढ्नुपर्छ भन्ने कोणबाट छलफल चलिरहेको छ ।
एकीकृत संगठनमा तपाईको आफ्नो पोजिसन के हुन्छ त ?
– नयाँ इतिहास निर्माण गर्ने सन्दर्भमा कुनैपनि व्यक्तिले आफू बन्नैपर्छ भन्यो भने त्यो त्यति मार्क्सवादी तरिका होइन जस्तो लाग्छ । एकतापछिको नयाँ संगठनको विशाल सांगठनिक संरचनालाई हाँक्न योग्य र विद्यार्थीहरुको हक र अधिकारका निम्ति लड्न सक्ने व्यक्तिहरुलाई नेतृत्वमा स्थापित गरिनुपर्छ भन्ने लाग्छ । राजनीति भनेको समाजसेवा सँगसँगै परिवर्तनको महत्वपूर्ण कडी पनि हो । समाजको परिवर्तनका लागि पद नैं चाहिन्छ जस्तो मलाई लाग्दैन । तथापि विद्यार्थी राजनीतिमा मैले व्यतित गरेको समय, संघर्ष र योगदानको नेतृत्वले उचित कदर गर्नेछ भन्ने कुरामा विश्वस्त छु ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५