जीवनमा आफैले अध्ययन गरेको विद्यालयमा प्रधानाध्यापक बन्ने सुअवसर विरलै मानिसहरुले पाउँछन् । २०५१ सालमा भक्तपुरको अंग्रेजी माध्यमको स्कूल जनप्रेमी माध्यमिक विद्यालयका पहिलो एस.एल.सी. व्याचका विद्यार्थी निलेश आचार्य भने त्यस्तै विरलै मानिसको सूचिमा पर्दछन् । एस.एल.सी. को परीक्षा सकिएको दिनदेखि शिक्षण पेशामा हिँडेका आचार्य अहिले सोही विद्यालयका प्रधानाध्यापकको रुपमा क्रियाशील छन् । प्रधानाध्यापक आचार्यसँग विद्यालयका समसामयिक पक्षहरु र नयाँ पाठ्यक्रम निर्माण सम्बन्धी उठेका विषयहरुसँग केन्द्रमा रहेर आजको न्यूजका लागि नरेश न्यौपानेले गरेको कुराकानी :
अहिले चर्चामा आइरहेको नयाँ शैक्षिक पाठ्यक्रम निर्माणको विषय यहाँलाई कस्तो लागिरहेको छ ?
–वास्तवमा परिवर्तित समयअनुरुप पाठ्यक्रम परिवर्तन गर्नुपर्ने विषय हो । तर पाठ्यक्रम परिवर्तन गर्नुपर्छ भन्ने नाममा रातारात र बिनातयारी शिशु कक्षादेखि सुरु गर्नुपर्ने नयाँ पाठ्यक्रम निर्माणको विषय माथिल्लो कक्षाबाट जुन ढंगले सुरु हुँदैछ यो एकदम अव्यवहारिक छ । हाम्रो आवश्यकतालाई मध्यनजर गर्दै यथेष्ट आन्तरिक तयारीका साथ पाठ्यक्रम निर्माण गर्नुपथ्र्याे । पर्याप्त मात्रामा पुरानै पाठ्यक्रमका विषयहरु त देशभरका स्कूलमा पुर्याउन सकिरहेको छैन भने नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा आम विद्यार्थी र विद्यालयहरुलाई नैं अन्यौलता सिर्जना गर्ने गरि काम अघि बढाइनु हुदैनथ्यो । यद्यपि हामी त पर्याप्त जनशक्ति र परिवर्तन हुने पाठ्यक्रमका समेत अनुभवि शिक्षकहरु भएकाले व्यवस्थापन गर्न सकौंला तर सबै विद्यालयहरुको अवस्था हाम्रो जस्तो नहुन सक्छ ।
पाठ्यक्रम परिवर्तनको विषयले व्यवहारिक र जीवनोपयोगी शिक्षाको कार्यान्वयनतिर जोड दिन खोजेको हो त ?
–त्यसो हो भन्ने कुरा त सहजै अनुमान पनि गर्न सकिन्छ । तर व्यवहारिक र जीवनोपयोगी शिक्षाको कार्यान्वयन केही मान्छेहरुले हतार हतारमा टेबल वर्क गर्दैमा सम्भव होला भन्ने मलाई लाग्दैन । ठिक समयमा हाम्रो आवश्यकता बमोजिमको पाठ्यक्रम निर्माण गर्नुपर्यो र त्यसका लागि केही मान्छेहरुले माथि माथि छलफल र बहस गर्ने भन्दा पनि व्यवहारमा कार्यान्वयन गर्नतर्फ लाग्नुपर्दछ । यहाँ विडम्बनाको कुरा के छ भने व्यवहारिक प्रयोगमा ध्यान दिने भन्दा पनि सरोकारवालाहरु व्यवहारिक मात्रै हो र ? अझ वैज्ञानिक शिक्षा नैं भनेर आदर्शका कुराहरु मात्र गर्ने गर्छन् । मलाई त अझ के लाग्छ भने हाम्रो पुरानो पाठ्यक्रमको फ्रेमवर्क पनि कम छैन, त्यसैलाई मात्र राम्ररी कार्यान्वयन गर्न सबै लागेको भए अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शिक्षा नेपालमै सम्भव थियो ।
तत्काल नयाँ पाठ्यक्रम लागु गर्नुपर्ने अवस्था आयो भने जनप्रेमी कलेजले लागु गर्न सक्ला ?
–मैले माथि पनि भनिसकेँ कि हामीसँग नयाँ पाठ्यक्रमसँग तुरुन्तै म्याच खाने जनशक्ति पर्याप्त मात्रामा छ । करिब २०÷२५ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा क्रियाशील र अनुभवि शिक्षकहरुको हामीकहाँ कमी छैन । हाल अनिवार्य विषयको रुपमा नयाँ आउने भनिएका अंग्रेजी, नेपाली, सामाजिक जस्ता विषयहरुको त कुनै समस्या नै भएन । अर्काे, जीवनोपयोगी शिक्षाका लागि समेत हामीकहाँ वीएसडब्लु, वीवीएस र साइन्स लगायतका विषयहरु पनि अध्यापन गराइरहेका शिक्षक भएकाले समस्या हुँदैन भन्ने लाग्छ । पहिले त अब पाठ्यक्रम कस्तो बन्छ त्यो पनि हेर्न बाँकी छ नि ।
नीजि स्कूलहरुले गुणस्तरियताका नाममा चर्काे शूल्क असुलिरहेको आरोप लाग्दै आएको छ, यसमा यहाँ के भन्नुहुन्छ ?
–जनप्रेमी कलेज वा हाम्रो विद्यालयको हकमा भन्ने हो भने हाम्रो स्कूल शिक्षा नियमावलीले क वर्गको कलेज भनेर तोकिदिएको छ र हाम्रो शूल्क पनि नियमावलीले तोकेबमोजिम नैं छ । त्यस्तै स्थानीय तहहरुले क वर्गका स्कूलले लिन पाउने गरि जति शूल्क तोकिदिएको छ त्यसको हामीले अक्षरशः पालना गर्दै आइरहेका छौं । वास्तवमा सरकारी विद्यालयको भन्दा नीजि स्कूल÷कलेजको शूल्क महँगो नै हुन्छ । किनभने नीजि शैक्षिक संस्थाका कर्मचारीहरुले समेत सरकारी विद्यालयका कर्मचारीसरह सेवासुविधा खोजिरहेका हुन्छन् । कर्मचारी व्यवस्थापनका साथै विभिन्न आन्तरिक व्यवस्थापन र विद्यार्थीलाई बाह्य ज्ञानका गतिविधिसँग जोड्नुपर्ने भएकाले शूल्क सरकारीभन्दा महँगो हुने कुरा अन्यथा होइन । तर केहि विद्यालयहरु जो सेवाभन्दा बढी व्यवसाय गर्न र नाफा कमाउन यस क्षेत्रमा लागेका छन्, उनीहरुले बढाए भन्दैमा सबैलाई दोष लगाउन उपयुक्त हुदैन । अनुगमन राम्रो हुनुपर्छ भन्छु म चाहिँ ।
तपाईको विचारमा नीजि र सरकारी शिक्षामा समानता कसरी कायम गर्न सकिएला ?
–यथार्थमा केही रिजल्ट ओरियन्टेड विद्यालयहरु शिक्षामा असमानता बढाइरहेका छन् । देशभरिका हरेक विद्यालयका ४÷५ जनाका दरले प्रवेश परीक्षाका नाममा राम्रा राम्रा विद्यार्थी छानेर पढाउन पनि खोज्ने र गुणस्तरको गफ गरेर महँगो शूल्क असुल्ने विद्यालयहरुको बिगबिगी छ । मेरो अनुभवमा टाढाटाढाबाट वा ग्रामीण क्षेत्रबाट काठमाडौं पढ्न आएका विद्यार्थीहरुको क्षमता राजधानीमै पढ्ने विद्यार्थीहरुको भन्दा कम देखिदैन । उस्तै खालको गाइड गर्ने हो भने काठमाडौंको विद्यालयमा पढेकाहरुलाई बाहिरका कमजोर विद्यार्थीले पनि अवसर पाउँदा जित्न सक्छन् । यही प्रश्न मेरो हो कि जब पाठ्यक्रम एउटै छ, तर असमानता किन छ ? शिक्षामा समानताका निम्ति मुख्य प्रश्न यही हो र यसैको निराकरण अनिवार्य छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५