नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकीकरणको सन्निकटमा छन् । पार्टीको निर्देशन अनुरुप एकताका लागि संयुक्त कार्यदल बनिसकेको भए पनि एकता प्रक्रिया ढिलो भइरहेको छ । संगठन एकता प्रक्रियामा भइरहेको ढिलाइ, भावी नेतृत्वको चयन र कार्यकर्ताको व्यवस्थापनका सन्दर्भमा अनेरास्ववियुकी अध्यक्ष नविना लामासँग आजको न्यूज प्रतिनिधिले गरेको संक्षिप्त कुराकानी :
अखिल र क्रान्तिकारी बिचको एकता प्रक्रियामा किन ढिलाइ भइरहेको छ ?
–सबभन्दा खुसीको कुरा त हाम्रो एकता हुदैछ । लामो समय एक–अर्का विरुद्ध राजनीति गरिरहेका दुई संगठन एक हुने कुरा नेपालका लाखौंलाख विद्यार्थीका निम्ति अत्यन्तै राम्रो कुरा पनि हो । हामी भावनात्मक रुपमा, एजेण्डाका रुपमा र अबको विद्यार्थी आन्दोलनको कार्यदिशा हेर्दा धेरै पहिले एक भइसकेका हौं । तपाईले संकेत गरेको जस्तो केही प्राविधिक र संरचनागत कुराहरु मात्रै मिलाउन बाँकी हो, त्यो पनि चाँडै टुंगिन्छ ।
नेतृत्वको विषयलाई लिएर कुरा नमिलेको हो ?
–त्यसो होइन । संयुक्त संगठनको नेतृत्व कसले गर्ने भन्ने सन्दर्भमा हामी प्रवेश गरेकै छैनौं । अहिले त दुई संगठनलाई एकीकरण गर्ने एउटा संयुक्त कार्यदल मात्रै बनेको छ । हाम्रा बिचमा भावी संगठनको संरचना कस्तो बनाउने भन्ने छलफल आरम्भ भएको छ । अनेरास्ववियुका ईन्चार्ज एवम् वर्तमान मन्त्री क. रवीन्द्र अधिकारीको कार्यव्यस्तता र उहाँ मुलुकबाहिर भएका कारण केही ढिलाइ भएको सत्य हो । नेतृत्वको विषय दुबैतिरका विद्यार्थी नेताहरुको सुझबुझ, कार्यदल र पार्टी नेतृत्व बिचको छलफलबाट टुंगिने विषय हो ।
एकताको अवस्थामा पुगिसक्दा पनि अखिलले विधानतः टुंग्याउनुपर्ने मनोनितको विषय टुंग्याउन सकेको छैन, के अब मनोनित एजेण्डा सकियो ?
–हाम्रो विधानले बोलेको कुरा हामी पूरा गर्छौं । एकताको अवस्थामा आइपुग्दा जिम्मेवारीमा नभएका तर आवश्यक साथीहरुलाई विधानतः मनोनित गरेरै एकतामा जाने हो । यसकारण मनोनितको एजेण्डा सकिएको होइन कि अब कार्यान्वयन हुन्छ ।
सरकारले नयाँ पाठ्यक्रम निर्माण गर्ने घोषणा गरेको छ र पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउदै पनि छ । यसमा अखिलको धारणा के हो ?
–नयाँ पाठ्यक्रम निर्माण गर्ने कुरा अत्यन्त संवेदनशील कुरा हो । मेरो विचारमा हतारमा पाठ्यक्रम बनाउनु हुदैन । बर्षबर्ष पाठ्यक्रम परिमार्जन गरिरहन पनि सम्भव हुदैन । अबको पाठ्यक्रम आम विद्यार्थीहरुलाई जीवनोपयोगी बनाउने कुराहरुमा केन्द्रित हुनुपर्दछ । नेपालमै विद्यार्थीहरुलाई स्वरोजगार र स्वावलम्वी बनाउने शिक्षा प्रणालीको कुरा अखिलले विगतदेखि नैं उठाउदै आइरहेको छ । त्यसकारण यो पाठ्यक्रम विकास केन्द्रको मात्रै भन्दा पनि आम चासोको विषय हो । व्यापक छलफलका माध्यमबाट वैज्ञानिक पाठ्यक्रम तय गरिनुपर्दछ ।
शैक्षिक ऋण कार्यान्वयनको सन्दर्भमा तपाईहरुले कस्तो पहल गरिरहनुभएको छ ?
–विद्यार्थीहरुलाई शैक्षिक ऋणमार्फत सहुलियत दिएर उनीहरुको शिक्षा–दीक्षा पनि राम्रो बनाउने र यूवा विद्यार्थीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सर्वप्रथम अखिलले उठाएको यो एजेण्डा सरकारले बजेटमा समावेश गरेर कार्यान्वयन गर्दैछ । यसमा अब हामीले सरकारलाई रचनात्मक सहयोग गर्ने हो र गरिरहेका पनि छौं । विद्यार्थी आन्दोलनको यति लामो यात्रामा मलाई यो सफलताले धेरै नैं खुसी बनाएको छ ।
अन्तमा, अखिलका पछिल्ला गतिविधि बारे बताइदिनुस् न ।
–विद्यार्थी संगठनहरुको काम भनेको रचनात्मक दवावका माध्यमबाट सरकारलाई सचेत बनाउने र सरकारका कामकारबाहीलाई चुस्त दुरुस्त बनाउन सहयोग गर्ने हो । अहिले हामी पेट्रोलियम पदार्थको सहुलियतबारे गरिएका पुराना सहमतिहरुको कार्यान्वयन गर्न लागिरहेका छौं । यो बाहेक शिक्षा मन्त्रालयसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि वार्ता, संवाद र छलफल गरिरहेका छौं । यो सँगसँगै अहिले हामी संगठन एकताको विषयमा बढि केन्द्रित छौं ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५