सगरमाथाकी प्रथम महिला आरोही पासाङ ल्हामु शेर्पाकी सहयात्री हुन् –लाक्पा फुटी शेर्पा । पासाङ ल्हामुको सगरमाथा आरोहण दलकी सदस्य समेत रहेकी लाक्पा फ्रान्सको माउण्ट व्लङ (सेतु हिमाल) मा स्किई लगाएर आरोहण गर्ने प्रथम नेपाली समेत हुन् । नेपालका एक दर्जन जति हिमालहरुको आरोहण गरिसकेकी शेर्पा पर्वतारोहीका अतिरिक्त समाजसेवी एवम् लेखिकाका रुपमा समेत देखा परेकी छन् । उनका विभिन्न पुस्तकहरु प्रकाशित भैसकेका छन् जसमध्ये उनको ‘हिमालकी छोरी’ नामक पुस्तकले राम्रो चर्चा पाइरहेको छ । प्रस्तुत छ उनै लाक्पा फुटी शेर्पासँग आजको न्यूजले गरेको कुराकानी :
हिमालको काखमा जन्मेकी शेर्पाकी छोरी कसरी लेखिका बन्न पुग्नुभयो ?
–नेपालमा हिमाल चढ्न आउने विदेशीहरुले नेपालीका बारेमा, हिमालका बारेमा, हिमालका शेर्पाहरुका बारेमा किताब लेख्ने गरेको पाइन्छ । हाम्रा कथा उनीहरुले लेख्न सक्ने तर हामीले किन नसक्ने भन्ने लागेर मैले यो सुरुवात गरेकी हुँ । १९९३ मा जब पासाङ ल्हामुको समूहमा सगरमाथा आरोहणका लागि वेसक्याम्प पुगेँ त्यतिबेला एक डेढ महिना वेसक्याम्पमा बस्दा त्यहाँका मान्छेहरुको भोगाइले मेरो मन छोयो । विदेशीहरुले हाम्रो संस्कृतिका विभिन्न फोटोहरु खिचेर प्रयोग गरिरहेका छन् भने हामीले किन हाम्रो संस्कृतिका बारेमा नलेख्ने ? भन्ने लागेर मैले लेख्न सुरु गरेँ ।
पासाङ ल्हामु शेर्पाको सहपाठीको नाताले आज उहाँलाई कसरी सम्झनुहुन्छ ?
–म एक सहपाठी मात्रै होइन, हामी दिदीबहिनी पनि हाँै । उहाँ एक जिम्मेवार आमा, असल श्रीमति, असल छोरी र चार भाइकी प्यारी बहिनी हुनुहुन्थ्यो । सगरमाथा आरोहण गर्ने उच्च शाहस भएकैले उहाँले चौथो पटकको प्रयासमा सगरमाथा आरोहण गर्नुभयो । तर बिडम्बना उहाँको दुःखद निधन भयो । उहाँ सम्पूर्ण नेपाली महिलाहरुको प्रेरणाको स्रोत हुनुहुन्छ । हाम्रो टिमको लिडर पासाङ ल्हामुले सगरमाथा आरोहणमा सफलता पाउनु भनेको हाम्रो टिमको सफलता थियो र जुन राष्ट्रकै सफलता मानिएको छ । उहाँ आँट र शाहसकी प्रतिमूर्ति हुनुहुन्छ ।
हिमालमा बिताएका ४० बर्षभन्दा बढी समयको अवस्थामा तपाईले केही बिर्सनै नसकेका घटनाहरु बताइदिनुस् न ।
–४० बर्ष लामो पर्वतारोहणको अवधिमा मैले स्किइ खेल्न सिकेर पश्चिम युरोपको सबभन्दा अग्लो हिमाल माउण्ट ब्लङमा पहिलो नेपालीको रुपमा आरोहण गरेँ । त्यस्तै स्वीजरल्याण्ड, इटाली र फ्रान्सका हिमालमा स्किइ खेलेको कुरा बिर्सनै नसकिने र सबैभन्दा खुसीको कुरा हो । त्यस्तै पर्वतारोहणका क्रममा एक विदेशीको गाइड गर्दै जाँदा मैले देखाएको शाहसप्रति आरोही खुसी हुदै मलाई शाहसी महिला भनेको र त्यही उत्प्रेरणाले म यहाँसम्म आउन सफल भएको कुरा म सम्झिरहन्छु ।
तपाई आफूलाई के भन्न रुचाउनुहुन्छ ? पर्वतारोही, समाजसेवी वा लेखिका ?
–पर्वतारोहण, समाजसेवा र लेखन मेरा लागि एक आमाका तीन सन्तानजस्तै समान लाग्छन् । तर कुनैपनि कुरामा म पहिलो हुन्छु भनेर लागेको थिइन । मैले ‘हिमालमा ४० बर्ष’ पुस्तक लेखेँ । जसले मलाई मेरो समुदायमै पहिलो लेखकका रुपमा चिनाउने काम गर्यो । त्यस्तै नेपाल माउण्टेन एकेडेमीमा कार्यकारी निर्देशक भएर दुई कार्यकाल काम गर्ने मौका पाउने शेर्पा समुदायको म पहिलो महिला बन्न पुगेछु । म यी क्षेत्रमा बिना योजना पहिलो भएकाले आफूलाई भाग्यमानी ठान्छु ।
पर्वतारोहण सम्बन्धी पहिलो पटक कलेज नैं स्थापना गर्नुभएको छ, यस्तो कामको थालनी गर्ने सोच कसरी आयो ?
–नेपाल हिमालै हिमालहरुको देश हो । विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि नेपालमै छ । तर माउण्टेन गाइड लाइसेन्स लिन फ्रान्स जानुपर्दथ्यो । माउण्टेन विषयमा हिमाली संस्कृति, भूगोल, जनजीविका, रहनसहन आदि अनेक पक्षको अध्ययन गर्नुपर्दछ तर यसको अध्ययन नेपालमा नहुने भएकाले हामीले सल्लाह गरेर १०+२ को पाठ्यक्रम बनाइयो । नेपालका हिमालबारे विश्वलाई शिक्षा दिनुपर्छ भन्ने उद्देश्यका साथ नेपाल माउण्टेन एकेडेमी विश्वमै पहिलो पटक नेपालमा स्थापना गरियो । स्नातक पहिलो सेमेस्टर पनि सकियो । हाम्रो उद्देश्य नेपालमा हिमालय शिक्षा सम्बन्धी विश्वविद्यालय स्थापना गर्ने हो ।
पछिल्लो पटक तपाईको बढी व्यस्तता केमा रहेको छ ?
–अहिले म खासगरि समाजसेवाकै काममा व्यस्त छु । ट्रेकिङ्ग व्यवसायमा पनि संलग्न छु । नेपाल माउण्टेन एकेडेमीबाट महिला ट्रेकिङ्ग गाईड कोर्ष सञ्चालन गरेका छौं । आजसम्म १६० जनालाई यो तालिम प्रदान गरिसकेका छौं । हामीबाट तालिम लिएका चार जनाले त सगरमाथा नैं चढिसकेका छन् । यो बाहेक मेरा आजसम्मका अनुभवलाई फेरि एउटा पुस्तकको आकारमा ल्याउने कि भन्ने सोच पनि छ ।
तपाईले प्रकाशित गरेका पुस्तकहरुको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
–एकदमै राम्रो भएको छ । मैले सत्य कुरा मेरा कितावहरुमा लेखेकी छु । मैले यी पुस्तकहरु तयार पार्दा कम आँशु खसालिन । तर आज किताबहरुले पाएको मायाले म गौरवान्वित छु । नकारात्मक प्रतिक्रिया कतैबाट आएको छैन । मेरा कितावहरु सन्दर्भ पुस्तकको रुपमा देशका विभिन्न स्कूलमा पढाइ हुँदो रहेछ । यसकारण पनि म सन्तुष्ट छु ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५