काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
कम्पनीको सातौँ वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरिन् । बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
बिक्री कक्ष उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताइन् ।
कम्पनीका विभागीय प्रबन्धक घनश्याम अर्यालका अनुसार बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ । उनले बिक्री कक्ष सञ्चालन गर्नु नेपाली उत्पादनलाई प्राथमिकता दिने, स्वदेशी किसान तथा उद्योगलाई बजारसँग जोड्ने र उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको व्यवहारिक सुरुआत भएको बताए ।
सिंहदरबारस्थित बिक्री कक्षमा १४२ प्रकारका खाद्य तथा गैरखाद्य वस्तु बिक्रीका लागि राखिएको छ ।
यसैबीच कम्पनीले बिहीबारदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सहुलियत मूल्य पसलसमेत सञ्चालनमा ल्याएको छ । सहुलियत मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा प्रतिकिलो तथा प्रतिलिटर ५ रुपैयाँसम्म छुट पाउनेछन्।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३