अमेरिकाको न्यूयोर्क राज्यको कुइन्स काउन्टी सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइटस् एरियामा प्रशस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनीनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्ने न्यूयोर्क राज्यका सिनेटर जोसे पेरल्टासँग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गरेका छन । प्रस्तुत छ उक्त कुराकानीको सारः
तपाईले प्रतिनिधित्व गर्नुहुने न्यूयोर्कको क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । नेपाली मात्र नभै, भारतीय, बंगाली, ल्याटिनो, कोरियन र चाइनिजहरुको पनि बक्लो उपस्थिति यो जिल्लामा रहेको छ । तपाई आफ्नो जिल्लाको विविधतालाई कसरी व्याख्या गर्नुहुन्छ ?
–म यसलाई संयुक्त राष्ट्र संघकै स्वरुप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरुको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भएता पनि यो क्षेत्रलाई आफ्नो घर मान्दछन् । विविधताले हामीलाई बल दिएको छ । म यो जिल्लालाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भूभागमा बेमेल भएका समुदायका मानिसहरु पनि याहाँ मिलेर बसेका छन् । हामीले एकअर्कालाई सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । याहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरु छन् । हामी सबै रोजगार, गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविष्य चाहन्छौँ । जव हामी एकै समुदायको रुपमा बाचेका हुन्छौँ तव मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भैरहेको छ ।
मेरो विचारमा, संसारका फरक जातजाति, भाषा, संस्कृति र भूगोलका मानिसलाई संयोजन गर्नु तपाईंको लागि पनि ज्यादै चुनौतिपूर्ण काम हो । यस सन्दर्भमा उनीहरुको मौलिक पहिचानलाई संरक्षण गर्ने तपाईको योजनाहरु के के छन् ?
–सबैभन्दा पहिला हामीले उनीहरुको संस्कृतिको पहिचान गर्नुपर्दछ । उनीहरुको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतिक अभ्यासमा थिए र याहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागि मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत सम्पर्क मार्फत जानकारी लिन सकिन्छ । तर मुख्य कुरो उनीहरु यो देशमा गुणस्तरीय जीवन बाँच्न आएका हुन्, उनीहरु अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रुपमा बुझ्नु पर्दछ । तसर्थ हामीले उनीहरुको राम्रो जीवनको लागि काम गर्नुपर्छ । उनीहरुलाई साना व्यवसायमा सहयोग गर्नु, सरसफाईमा ध्यान दिनु, उनीहरुका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनु पर्छ साथै उनीहरु माथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कतव्र्य हो । हाम्रो संघिय प्रसाशनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागि मान्य हुने छैन ।
याहाँ जनतालाई राजनीतिक रुपमा निर्णायक तहमा पुर्याउन तपाईंले कुनै योजनाहरु बनाउनु भएको छ ?
–राम्रो प्रश्न गर्नुभयो, हामी याहाँका सबै जनतालाई यो क्षेत्रको राजदुत भन्दछौँ । हामी जनतालाई राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरुमा बढी भन्दा बढी सहभागिताको लागि प्रोत्साहित गर्दछौँ ताकी उनीहरुले स्थानीय तथा राष्ट्रियस्तरमा के भैरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन । विशेष गरि सामुदायीक बोर्डको कार्यक्रम, निर्वाचित जनप्रतिनिधिका कार्यक्रमहरु र न्यूयोर्क पुलिसका कार्यक्रमहरुमा जनताको उच्च सहभागिताको लागि हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनीहरुको अभिमत लिन टाउनहल मिटिगंहरु आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरुले उनिहरुलाई राज्यका विविध नीतिनिर्माणमा सहभागीता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ ।
तपाईले न्यूयोर्क राज्यमा विगत ७ बर्षदेखि प्रतिनिधित्व गर्नुभयो, तपाईको कार्यकालका मुख्य उपलब्धिहरुलाई कसरी उल्लेख गर्न चाहनुहुन्छ ?
–हामी धेरै सफल भयौँ भन्ने मलाई लाग्छ । मुख्यगरी हामीले न्यूनतम ज्याला बृद्धिगरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबी विदाको अवधिलाई लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरी हेरि १२ हप्तसम्मको पारिवारिक तलबी विदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रकृयामा रहेकाहरुको लागि हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरुले वकिलको लागि तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गतबर्ष मात्र हामीले एक दशमलब एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी विनियोजन गरेका छौँ । हामा सरकारी कार्यालयहरुमा कुनै प्रकारको विभेदका विरुद्धको कानूनी सेवाका वकिलहरु निशुल्क उपलब्ध गराएका छौँ । हामीले सामुदयीक सेवामा लागेका विभिन्न संस्थाहरुलाई फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि ब्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलावा साना व्यवसायलाई दिइने अनुदान रकम बढाएका छौँ । मलाई लाग्छ मेरो सात वर्ष सफल अवधि हो ।
भर्खरै केन्द्रिय सरकारले नयाँ कर नीति पारित गरेको छ, यसमा तपाईको प्रतिकृया के छ ?
–यो कर नीति गरिब मारेर धनि पोष्ने किसिमको भयो । यसले न्यून आय भएका परिवारलाई त बर्बाद पार्छ नै मध्यम आय भएका परिवारलाई पनि राहत प्रदान गर्दैन । न्यूयोर्कका गरिखाने समुदायलाई त झन यसले बर्बादै पार्छ । मलाई विश्वास छ, हाम्रा सांसदहरुले क्यापिटल हिलमा यो बारेमा आवज उठाउने छन् ।
साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताको लागि तपाईको के कार्यक्रमहरु छन् ?
–यसको लागि हामीले गभर्नर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागि हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्युन ब्याजदरमा लोन दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पुजीँ भएका व्यवसायीलाई हामी तालिम र कन्सुलीगं सेवा पनि दिन्छौँ ताकी शुरु गरे पछि ब्याक हुनु नपरोस ।
तपाईको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोवास भएको क्षेत्र हो, जहाँ करिब ३० हजार नेपाली बस्छन् भनिन्छ, नेपाली समुदायको बारेमा तपाई कत्तिको जानकार हुनुहुन्छ ?
–नेपालीहरुको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको संख्या द्रुत गतिमा बढेको छ जुन स्वागत योग्य कुरा हो । उनीहरुको उपस्थिति देख्दा मलाई गर्व लागेको छ । मैले मुख्य गरि ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली ब्यवसायहरु बढीरहेको देखेको छु । तर मलाई थाहा छ व्यवसाय नगर्नेहरुको संख्या ठुलो छ । मैले नेपाली सामुदायीक संस्थाहरु र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारी लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस ।
नेपालीहरुको स्वभाव र संस्कृतिको बारेमा तपाईको विश्लेषण के छ ?
–म धेरै खुसी छु । धेरै मेहनती र स्वभिमानी स्वभावको पाएको छु । उनीहरु केही गर्नको लागि याहाँ आएका हुन् भन्ने थाहा छ । साना ब्यवसाय र सामाजिक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केही गर्न सफल भएका छन् भने हामीले प्रसंशा गर्नै पर्छ । उनीहरु कुइन्सलाई आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारी कार्यक्रमहरुमा उनीहरुको सक्रिय सहभागीता रहने गरेको छ ।
तपाईलाई नेपालको बारेमा चाहिँ कत्तिको जानकारी छ ?
मलाई केही जानकारी छ । तर मैले नेपाली समुदायको बारेमा बढीभन्दा बढी जानकारी लिने कोशिश गरिरहेको हुन्छु । मलाई नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मन पर्ने खाना हो । नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने काम भैरहेको छ जसबाट मलाई नेपालको बारेमा जानकारी पनि बढीरहेको छ ।
नेपालीको लागि तपाईको केही विशेष सन्देश छन् कि ?
–नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरि हामीले संचालन गर्ने सबैप्रकारका कार्यक्रमहरुमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमी छोडेर याहाँ आउदा निश्चयनै नेपालमा के के भैरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाईहरुको जीवन र सपना याहाँ छ तसर्थ यो समाजलाई राम्रो बनाउन कोशिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागि म सदा तयार छु ।
नेपाल घुम्ने निम्तो आएमा के गर्नु हुन्छ ?
–त्यो मेरो लागि खुसीको कुरो हो । म अवश्य जानेछु ।
प्रकाशित मिति: शनिबार, पुस १, २०७४