काठमाडौँ । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो आएपछि सरकारले शुल्क निर्धारण समिति गठन गरेको छ ।
र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिक तथा सरकारी अस्पतालले पनि मनपरी शुल्क लिँदै आएका छन् ।
प्रतिव्यक्ति ५०० देखि २५०० सम्म उठाइरहेको गुनासो प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण समिति बनाएको छ ।
परीक्षण शुल्कमा मनपरी भएको गुनासो आएपछि वैज्ञानिक ढङ्गले शुल्क तोक्न र अनुगमन गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दिएको निर्देशन अनुसार गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको हो ।
उक्त समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, व्यवस्थापन महाशाखा र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिनण्का पदाधिकारी तोकिएको छ ।
स्वास्थ्यमन्त्रीले अनुगमन गरेर एक हप्ताभित्रैमा रिर्पोट पेश गर्न निर्देशन दिएको एक सदस्यले बताएका छन् ।
डेंगु सङ्क्रमणबाट पछिल्लो दुई महिनामा १३ जनाको मृत्यु भएको छ । जनवरीयता अगस्ट २२ सम्म १७ हजार ४०९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०