काठमाडौं । सेयर बजार सुधारका लागि सरकारले ल्याएको २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । कार्ययोजनापछि लगानीकर्तामा उत्साह देखिँदा मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको हो ।
यस दिन ३४७ वटा कम्पनीको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका २६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्से उच्च अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ । त्यस्तै सिन्धु विकास बैंकको ११.०३ प्रतिशत, मल्टिप्रपोज फाइनान्सको ९.७३ प्रतिशत र जानकी फाइनान्सको ८.०६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । कम्पनीको करिब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड, अपी पावरको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड र लिबर्टी इनर्जीको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १३ वटै समूहका उपसूचक बढेका छन् । फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स समूहका उपसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३