काठमाडौं । ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको १९.८ मेगावाट क्षमताको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ ।
सोलुखुम्बुमा रहेको बेनी खोला जलविद्युत् आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न गरेको हो । आईपीओमा सर्वसाधारणको उच्च आकर्षण देखिएको थियो । मागभन्दा ३०.५५ गुणा बढी आवेदन परेको आयोजनाको सेयरका लागि २३ लाख ६१ हजार १२४ जनाले आवेदन दिएका थिए । तीमध्ये ८६ हजार ३२० जना आवेदकले सेयर प्राप्त गरेका छन् ।
आईपीओपछि आयोजना अब सेयर बजारमा सूचीकृत हुने तयारीमा छ । सेयर बजारमा सूचीकृत भएपछि हजारौं नेपाली सर्वसाधारणले आयोजनामा प्रत्यक्ष स्वामित्व पाउनेछन् ।
बेनी खोला जलविद्युत् आयोजनाले सञ्चालनको प्रारम्भिक दुई आर्थिक वर्षमा लगातार नोक्सानी व्यहोरेको थियो । तर पछिल्लो आर्थिक वर्षमा वित्तीय अवस्थामा सुधार गर्दै आयोजनाले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा स्थापना भएको बिगमा हाल १६७ भन्दा बढी शेयरधनी छन् । कम्पनीका अधिकांश शेयरधनी विदेशमा कार्यरत छन् । विदेशमा कमाएको आम्दानीलाई सामूहिक रूपमा परिचालन गरी नेपालमै लगानी गर्ने उद्देश्यले स्थापना भएको बिगले जलविद्युत् क्षेत्रलाई प्रारम्भिक लगानीको प्रमुख क्षेत्र बनाएको हो ।
बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी खोला जलविद्युत् आयोजनालाई हालको अवस्थामा ल्याउन कम्पनीले निर्वाह गरेको भूमिकाप्रति गर्व लागेको बताएका छन् । उनका अनुसार आयोजनाको सेयर निष्कासन बिगका लगानीकर्तासँगै हजारौं नेपालीका लागि महत्वपूर्ण उपलब्धि हो ।
बिगको लगानी बेनी खोलामा मात्र सीमित छैन । कम्पनीले सिन्धुपाल्चोकको ३.२ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत् आयोजना र ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।
गेलुन खोला आयोजना हाल पूर्ण क्षमतामा सञ्चालनमा छ भने उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको छ । माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ आयोजनाले पनि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ र वित्तीय व्यवस्थापनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
बिगले आगामी दिनमा जलविद्युत्मा मात्रै सीमित नरही आतिथ्य, शिक्षा र पर्यटनलगायतका क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको छ । लगानीलाई विभिन्न क्षेत्रमा विविधीकरण गर्दै शेयरधनीका लागि दीर्घकालीन रूपमा बलियो पोर्टफोलियो निर्माण गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले आगामी तीन वर्षभित्र आफूलाई नेपालको प्रमुख लगानी कम्पनीका रूपमा स्थापित गर्ने र पाँच वर्षभित्र आफ्नै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याएर सेयर बजारमा प्रवेश गर्ने लक्ष्य लिएको जनाएको छ ।
विदेशमा कार्यरत नेपालीको सामूहिक बचतलाई जलविद्युत्, पर्यटन, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवधारणालाई थप विस्तार गर्ने कम्पनीको योजना छ । बेनी खोला जलविद्युत् आयोजनाको आईपीओलाई विदेशमा रहेका नेपालीको सामूहिक लगानीबाट ठूला पूर्वाधार आयोजनामा स्वामित्व कायम गर्न सकिने उदाहरणका रूपमा कम्पनीले लिएको छ ।